पर्वत । पर्वतमा बसले ट्याक्टरलाई ठक्कर दिँदा एक किशोरको मृत्यु भएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार भएको दुर्घटनामा किशारेका मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछाने रहेका छन्। विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिएको थियो।
तीव्र गतिमा गुडेको रात्रीबसले सोही दिशातर्फ गुडिरहेको ट्याक्टरलाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते पाँच जना मजदुरलाई उपचारका लागि पोखरा पठाइएको छ भने अन्य १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले ठक्कर दिने बस र त्यसका चालकलाई पक्राउ गरेको र थप अनुसन्धान जारी रहेको बताएको छ।