Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्व राज्यमन्त्रीलाई पराजित गर्दै राई कांग्रेस खोटाङको सभापतिमा निर्वाचित

खोटाङ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । राईले कांग्रेसको सातौं जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईलाई पराजित गरेका हुन् ।

सर्वधनभन्दा राईले ५९ बढी मत ल्याएका छन्। मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणामअनुसार विष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । पौडेल समूह निकट राईको सिंगो प्यानल नै विजयी भएको छ ।

नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्वसभापति एवं महासमिति सदस्य हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गरेका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति चुनिएका थिए ।

यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका राई २०७२ सालमा महासमिति सदस्य बनेका थिए । कानुनमा स्नातक उनी ६ असार २०४९ देखि ५ वर्ष तत्कालीन जिल्ला विकास समिति खोटाङको सभापति बनेका थिए ।

साहित्यमा उनी विष्णु आभूषणका रूपमा चिनिन्छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् ।

राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् ।

यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077