Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जनयुद्धका घटनामा माओवादीलाई आम माफी दिन सकिदैन, दोषीलाई कारवाही हुनुपर्छ : ओली

काठमाडौं । पूर्वप्रधनमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताएका छन् ।

जनयुद्धमा होमिएको तत्कालिन माओवादी र सरकारबीच भएको विस्तृत शान्ति सम्झौताको १५ वर्ष पूरा भएको उपलक्ष्यमा ओलीले एक वक्तव्य जारी गर्दै दोषीलाई कारवाही हुनुपर्नेमा जोड दिएका छन् ।

२०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने २०६३ साल मंसिर ५ गते सरकार र नेकपा माओवादीबीच सात बुँदे विस्तृत शान्ति सम्झौता भएको थियो ।

बक्तब्यमा उनले भनेका छन्–‘हामी सत्य, न्याय, परिपूरण र रूपान्तरणमुखी शान्तिको प्रक्रियाद्वारा समाजमा मेलमिलाप र स्थायित्व कायम राख्नुपर्ने पक्षमा छौं । हामी द्वन्द्वकालमा भएका मानवता विरोधी ज्यादती तथा मानव अधिकार उल्लंघनका गम्भीर घटनामा आममाफी दिने कुरामा सहमत हुन सक्दैनौं ।’

नेपालको शान्ति प्रक्रिया घरेलु प्रयासद्वारा मौलिक रूपमा अघि बढेको यथार्थलाई आत्मसात गर्दै संक्रमणकालीन न्यायलाई पनि नेपाली नेतृत्वमा तार्किक निष्कर्षमा पुर्‍याउनुपर्ने आफूहरुको मान्यता रहेको ओलीको भनाइ छ ।

ओलीले द्वन्द्वका दौरान पीडा भोग्न बाध्य पारिएका नागरिक र समाजलाई सत्यको जानकारी गराउने, न्याय सुनिश्चित गर्ने, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य विधिबाट स्मरण, सम्मान र औषधोपचार सहितको परिपूरणको व्यवस्था गरी मेलमिलापको भावना अभिवृद्धि गर्नुपर्ने धारणा राखेका छन् ।

नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउने र सद्भाव राख्ने अन्तर्राष्ट्रिय समुदायलाई समेत विश्वासमा लिएर संक्रमणकालीन न्यायलाई सर्वाङ्गीण विधिद्वारा सम्बोधन गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु साझा दायित्व रहेको उनले औल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077