Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री देउवा

लण्डन – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।

ग्लास्गोमा भोलि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिने सिलसिलामा लण्डनमा रहेका उनले नेपालप्रतिको बेलायती सांसदहरूले देखाउनुभएको सद्भाव र शुभेच्छाबाट प्रोत्साहित भएको बताए ।

नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले उनको सम्मानमा शनिबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले कठिन समयमा पनि नेपाललाई साथ दिएकामा बेलायती सांसदहरूप्रति आभार व्यक्त गर्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

विभिन्न अवसरमा बेलायतको संसद्मा नेपालप्रति व्यक्त गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताउँदै प्रधानमन्त्री देउवाले कठिन समयमा प्रस्तुत सद्भाव र ऐक्यबद्धताले नेपालका असल मित्रहरू रहेका विषयको सुखद स्मरण गराएको भनेका छन् ।

आजै प्रधानमन्त्रीले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिहरूलाई भेट्नेछन् भने लण्डनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रोशन खनालले आयोजना गर्नुहुने स्वागत समारोहमा उनी सहभागी हुने कार्यक्रम रहेको उक्त दूतावासले जनाएको छ । आजै प्रधानमन्त्री एडनबरा हुँदै अपराह्न स्कटल्याण्डको ग्लास्गो पुग्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077