काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडो र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेटवार्ता भेटवार्ता भएको छ।
बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार बिहान अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेको ओलीको सचिवालयले बताएको छ ।
यसअघि बिहीबार देल्गाडोको टोलीले पाटन दरबार स्क्वायर र भक्तपुर दरबारको भ्रमण गरेको थियो । स्रोतका अनुसार उनको टोलीले स्वयम्भूनाथको अवलोकन भ्रमण गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुने र बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम समेत रहेको छ ।
भ्रमण टोली नेपालमा ओलीसहित राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
यस्तै परराष्ट्रमन्त्री डा नारायण खड्का र शिक्षामन्त्री देवेन्द्र पौडेलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । स्पेनी प्रतिनिधिमण्डल यही कात्तिक १६ गते स्पेन प्रस्थान गर्ने छ ।
Leave a Reply