Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सीता भण्डारी मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न गृहमन्त्रीसँग माग

रुपन्देही । तिलोत्तमा नगरपालिकाले सीता भण्डारीको शङ्कास्पद मृत्यु र त्यससँग जोडिएका विषयमा गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएको छ। नगरप्रमुख वासुदेव घिमिरे नेतृत्वको टोलीले गृह मन्त्रालयमा मन्त्री खाँणलाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो।

नगरपालिकाले घटनाको विश्वसनीय छानबिन गर्दै वास्तविक तथ्य छिटो सार्वजनिक गर्न र दोषीउपर हदैसम्मको कानूनी कारबाही गर्न गृहमन्त्रीसँग माग गरेको छ। घटनाको विषयमा यसअघि नै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको नगरपालिकाले सत्यतथ्य छानबिन र पीडित पक्षलाई न्याय दिलाउन प्रहरी प्रशासन तथा जिल्ला प्रशासन कार्यालयलाई समेत पटकपटक गम्भीर ध्यानाकर्षण गराए पनि अझैसम्म घटनाको निष्कर्ष र वास्तविकता आउन नसक्दा पीडित झनै पीडित भएको तथा आन्दोलन र विरोध दिनानुदिन बढ्दै गइरहेको गृहमन्त्री खाँणलाई जानकारी गराएको छ।

घटनालाई महिला हिंसा र सामाजिक न्यायको दृष्टिकोणबाट पनि हेर्दै पीडित पक्षको न्यायका लागि नगरपालिका समन्वय र सहकार्य गर्न तयार रहेको नगरपालिकाले पुनः स्पष्ट पारेको छ। तिलोत्तमा–५ मणिग्राम घर तथा वडा नं ८ चार नं माइत भएकी २७ वर्षीय सीता भण्डारीको भदौ २० गते मणिग्राम घरमा शङ्कास्पद मृत्यु भएपछि घटनाको विषयलाई लिएर दिनहुँजसो प्रदर्शन भइरहेका छन्। विरोध प्रदर्शन तथा आन्दोलनले नगरपालिकाको सेवा प्रवाहसमेत प्रभावित भएको छ।

यसअघि नगरपालिकाले भदौ २७ गते प्रेस विज्ञप्ति र भदौ २८ गते सर्वदलीय बैठक राखेर घटनाको विषयको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न र पीडित परिवारलाई न्याय दिलाउन प्रहरी प्रशासनको गम्भीर ध्यानाकर्षण गराएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077