रामनारायण यादव / सप्तरी । राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चीन र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पाकिस्तानको इसारामा प्रदेश २ लाई तालिवान बनाउन खोजेको आरोप लगाएका छन् ।
‘मुख्यमन्त्री राउत आईएसआईको एजेन्ट हो । उपेन्द्र चिनियाँ एजेण्ट हुन्’ अभियानले सप्तरीको बिष्णुपुर गाउँपालिकामा आइतबार आयोजना गरेको दशैंको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने, ‘दुवै मिलेर प्रदेश २ मा मदरशा विधेयक ल्याएर तालिवान बनाउने योजनाका साथ काम गरिरहेका छन् ।’
यादवले सबैको शिक्षाको लागि सामुदायिक विद्यालयल रहे पनि प्रदेश सरकारले मदरसा विधेयक ल्याउनु निन्दनीय रहेको बताए । नेपाल सरकारले शिक्षामा उच्च लागनी गरी सरकारी विद्यालय संचालन गरेको र त्यहाँ पढ्नमा कुनै पनि भेदभाव नभएको कारण मदरसा शिक्षाको कुनै आवश्यकता नै नरहेको बताए । मदरसामा पढ्ने विद्यार्थी कुन क्षेत्रमा जागिर पाउने ? भन्दै उनले मदरसा शिक्षा कुनै शिक्षा नभई कट्टरवादी शिक्षा भएको बताए ।
मदरसा शिक्षाको विषयमा जसपा अध्यक्ष यादवलाई जनता माझ जवाफ दिनुपर्ने अभियानका अध्यक्ष यादवले बताए । धर्म संस्कृति रक्षाका लागि हिन्दु धर्मलाई नेपालमा संस्थागत गर्नुमा उनले जोड दिदै उनले संघिय हिन्दु गणतन्त्र सहितका व्यवस्था ल्याउन सम्पूर्ण हिन्दुलाई एक भएर आगाडि बढ्न अपिल समेत गरे ।
अभियानका जिल्ला सल्लाहकार योगानन्द साहको अध्यक्षमा भएको कार्यक्रममा अभियानका उपाध्यक्ष सुनिता साह लगायतले हिन्दु राष्ट्र स्थापनाका लागि सबै सरोकारबालाहरु एक हुनुपर्नेमा जोड दिए ।
Leave a Reply