Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निजामतीको दुर्दशा : ८६ हजारमा कोही भेटिएनन् सर्वोत्कृष्ट

काठमाडौं । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’को नारा दिँदै निजामती सेवा दिवस मनाइरहेको सरकारले गत वर्ष झैँ यो वर्ष पनि सर्वाेत्कृष्ट कर्मचारी छनोट गर्न सकेन। सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न खडा भएको छ।

प्रशासन विज्ञहरू भने यसलाई निजामती क्षेत्रको दुःखद र दुर्दशाको स्थितिका रूपमा चित्रण गर्छन्। निजामती सेवा दिवस हरेक वर्ष २२ भदौमा मनाउँदै आइएको छ।सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ। तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत भएका छन्।

पुरस्कारको मापदण्ड भए पनि सो मापदण्ड लागू हुन नसक्दा पुरस्कारमा ‘राम्रा मान्छेभन्दा पनि हाम्रा मान्छे’पर्ने गरेको गुनासो आमकर्मचारीको छ। यसपटक पनि त्यस्तै प्रवृत्ति दोहोरिएको गुनासो कर्मचारीको छ। मन्त्रिपरिषद्ले सोमबार मात्रै १० जनालाई उत्कृष्ट निजामती पुरस्कार र ३० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ।

यसअघि मुख्यसचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले ४० जनालाई पुरस्कार प्रदान गर्न सरकारलाई सिफारिस गरेको थियो। त्यसरी सिफारिस गर्दा सर्वोत्कृष्ट कर्मचारीको सिफारिस किन गर्न सकिएन भन्ने प्रश्न उठेको छ।

यो समाचार आजको राजधानी दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077