दैलेख – नेपाली राजनीतिक वृत्तमा एक १९ युवती चर्चाको शिखरमा छिन्। उनी हुन् स्वस्तिका महत। दैलेख जिल्लाको दुल्लु नगरपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको सभापति बनिन् त्यो पनि सर्वसम्मतरुपमा।
राजनीतिप्रति युवाहरुमा वितृष्णा पैदा भएको बेला स्वस्तिकाको समाचारले धेरैलाई उत्साहित बनाएको छ। अझ विशेषगरी कांग्रेसीहरुलाई। कांग्रेसलाई बूढाहरुको पार्टी पनि भन्ने गरिन्छ। तर यही बूढाहरुको पार्टीमा युवाहरु पनि आफ्नो राजनीतिक भविष्य खोज्दैछन् भन्ने गतिलो उदाहरण बनेकी छिन् स्वस्तिका।
शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो। उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए।
स्वस्तिका नेपाली कांग्रेसका नेता स्वर्गीय भुपेन्द्र महतकी छोरी हुन्। स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भुपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो। राजनीतिक पृष्ठभूमिका हुर्किएकी उनीमा आफ्नो पिताको प्रभाव परेको थियो। पिताको निधनपछि उनले आफू पनि राजनीतिमा होमिने निर्णय गरिन्। उनको पहिलो कदम सफल पनि भएको छ।
सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन्। दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन्।
उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन् । भण्डारीका अनुसार महत ‘एचए’ को पढाइ पूरा गरेर बसेकी हुन्। महतको पारिवारिक पृष्ठभूमि कांग्रेस नै हो।
सभापति भएपछि स्वस्तिकाले प्रतिक्रिया दिएकी छिन्। उनले आफ्नो स्वर्गीय बुवाको सपना पुरा गर्न राजनीतिमा आएको बताएकी छन्।
Leave a Reply