Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्डको कटाक्ष, ‘आगोसँग खेल्दा ओली बालुवाटारबाट बालकोटको बार्दलीमा पुगे’

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगोसँग खेलेका कारण बालुवाटारबाट बालकोटको बार्दलीमा पुग्नुपरेको बताएका छन्।

ओलीविरुद्ध निरन्तर खनिइरहेका प्रचण्डले सर्लाही–काठमाडौं सम्पर्क समितिले राजधानीको जोरपाटीमा सोमबार गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा पनि ओलीलाई कटाक्ष गर्न नछाडेका हुन्।

यसअघि संसदको बैठकले प्रचण्डले ओलीलाई आगोसँग नखेलनु भन्दै चेतावनी दिएका थिए। त्यसको जवाफमा ओलीले संसदमै आगोलाई बाल्टीबाट पानी हालेर निभाइदिने बताएका थिए।

उनले आफूले पुनःस्थापित संसदमा ओलीलाई आगोसँग खेलेर गल्ती गरेको भन्दै त्यसको परिणाम राम्रो नहुने भनेको कुरा स्मरण गरे। ‘मैले माओवादी आगो हो, आगोसँग खेल्दैछौ, सावधानी अपनाऊ भनेर ओलीलाई संसदमै भनेको हो’, उनले भने, ‘मैले त भनेकै थिएँ नि, अहिले त केपी ओलीले देखे होलान्।’

उनले माओवादीसँग खेलेकै कारण ओलीको सरकार ढलेको इंगित गर्दै अब प्रदेशमा पनि त्यही घटना दोहोरिने बताए। ‘अब एक नम्बर प्रदेशको पनि सरकार ढल्दैछ केही दिनमा’, उनले भने, ‘ओलीले आगोसँग खेलेर गरेको गल्तीको परिणाम आउँदैछ।’

फरक प्रसंगमा प्रचण्डले मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको पनि जानकारी दिए। ‘भर्खर सरकार विस्तारको कुरा भएको छ। भोलि पनि बसेर हामी ठोस कुरा गर्दैछौँ’, उनले भने, ‘अबको सरकारले मधेसको पनि विकास हुने गतिमा काम गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077