काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिंदै दादागिरी देखाउन थालेको आरोप लगाएका छन् ।
आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । उनले भने–‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो । यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’
उनले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको बताए । उनले भने–‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो ।’ उनले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि दावी गरे ।
अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको भन्दै उनले आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए । उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दावी पनि गरे ।
माधव नेपाल समूहप्रति लक्षित गर्दै ओलीले भने–‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ । आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन् ।’
Leave a Reply