Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भुक्तानी नपाएपछि फेरि आन्दोलनको तयारीमा उखु किसान

सर्लाही। सर्लाहीका उखु उत्पादक किसान उखुको भुक्तानी नपाएको भन्दै फेरि आन्दोलित भएका छन् । आफूहरुले उत्पादन गरेको उखुको करोडौँ भुक्तानी नपाएको भन्दै उनीहरु आन्दोलनको तयारीमा लागेका हुन् ।

विगत तीन-चार वर्षअघिदेखिकै करिब रु ३० करोड भुक्तानी आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि नपाएको भन्दै फेरि आन्दोलनको तयारीमा लागेका सिसौटियाका उखु उत्पादक किसान रामविलास महतोले बताए । विसं २०७४ कै पैसा नपाएको गुनासो जिल्लाका उखु उत्पादक किसानको छ । पटकपटकको आन्दोलनपछि महालक्ष्मी र अन्नपूर्ण सुगर मिलबाट करिब रु तीन लाख भुक्तानी पाए पनि महतोले उद्योगबाट अझै रु ८५ हजार उठाउन बाँकी रहेको छ ।

उखुकै पैसा माग्न जिल्लाका उखु उत्पादक किसान काठमाडौँ पुगेका महतोले बताए। 'मैले पहिला दुई बिघा जमिनामा उखु लगाउँथे । उखु बेचेरै आफ्नो घरपरिवार र व्यवहार चलाउने गरेको मलाइ उद्योगले भुक्तानी नदिएपछि अहिले समस्या भएको छ', महतोले बताए ।

सरकारबाट आश्वासन पाए पनि भुक्तानी हुन सकेन, यसकारण फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँतर्फ लागेको उखु किसान सङ्घर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताए । सचिव रायले आफूले पनि करिब रु २० लाख भुक्तानी नपाएको बताएका छन् ।

समितिका अनुसार इन्दिरा सुगर मिलबाट रु तीन करोड, लुम्बिनीबाट रु तीन करोड, अन्नपूर्णबाट रु १२ करोड, महाकालीबाट करिब नौ करोड भुक्तानी हुन बाँकी छ । श्रीराम सुगर मिलबाट पाउनुपर्ने रु तीन करोड सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई जिम्मा दिइए पनि जिल्लाका किसानले अहिलेसम्म पनि नपाएको सचिव रायले बताए । उखु उत्पादक किसानले उत्पादन गरेको उखुको भुक्तानी नपाउँदा जिल्लाका किसान उखु उत्पादन पेशाप्रति असन्तुष्ट बन्दै गएका छन् ।

'ऋण लिएर उखुखेती गरेका हुन्छौँ, बिक्री भए पनि तत्काल पैसा पाइँदैन', जसका कारण आफूहरुले वर्षाैँदेखि गर्दै आएको उखु उत्पादनको पेशा दिनप्रतिदिन परिवर्तन गर्न बाध्य भएका छौँ, 'आफ्नै पैसा पाउन पटकपटक आन्दोलन गर्नुपर्ने अवस्था आइरहेको छ । किसानका लागि योभन्दा ठूलो अत्याचार के हुनसक्छ ?' जिल्लाका उखु उत्पादक किसानको गुनासो छ ।

समयमै भुक्तानी नपाउँदा उखु उत्पादक किसान पटकपटक आन्दोलन गर्न बाध्य छन् । विगतकै भुक्तानी नभएपछि सर्लाहीका पाँच किसान फेरि काठमाडौँ पुगेका हुन् । पहिला सरकारलाई आफ्नो अवस्थाबारे जानकारी गराउने र माग सम्बोधन नभए पुनः आन्दोलनको घोषणा गर्ने उनीहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077