कास्की। गण्डकी प्रदेशसभाका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे मध्यरातदेखि सम्पर्कविहीन भएपछि प्रहरी उनको खोजीमा लागेको छ।
आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले विश्वासको मत लिन लाग्दा मनाङे भने उनलाई सहयोग नगर्ने उदेश्यले सम्पर्कबिहीन भएपछि प्रहरी उनको खोजी गर्दै घरसम्म पुगेको हो।
स्रोतका अनुसार मनाङे सम्पर्कविहीन भएपछि उनलाई खोज्दै उनको निवासमा प्रहरी पुगेको थियो । तर, उनीबारे जानकारी पाउन नसकेको प्रहरीको भनाइ छ।
मुख्यमन्त्री गुरुङलाई आफ्नो पद जोगाउन ६० जना प्रदेशसभा सदस्यमध्ये ३१ जनाको मत आवश्यक पर्छ। गुरुङले वैशाख १६ गते आफ्नो पद जोगाउन मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएका थिए।
प्रदेशसभामा एमालेका २७ सांसद छन । स्वतन्त्र सांसद मनाङे मन्त्री बनाएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनले प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ सम्पर्कविहीन भएको उनीनिकट व्यक्तिहरुको भनाइ छ।
मनाङेले यस बिचमा विपक्षी गठबन्धनका नेताहरुसँग भेटघाट गरेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको उनका निकट मानिनेहरुले बताउँदै आएका छन्।