Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

औंला बेच्नका लागि महिलाको हत्या गर्ने ५ जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आज महिलाको हत्या गर्ने एक गिरोहलाई सार्वजनिक गर्यो । जब प्रहरीले एक महिलाको हत्याबारे अनुसन्धान गर्दै जाँदा यो गिरोहलाई पक्राउ गर्यो तब प्रहरी पनि अचम्मित पर्यो ।

यो गिरोहले प्रहरीसमक्ष ति महिलाको औंला बेच्नका लागि हत्या गरेको बयान दिएपछि प्रहरी नै अचम्मित परेको हो ।

प्रहरीको अनुसन्धानमा तान्त्रिक विधिका लागि हातको औँला बिक्री हुने भन्दै महिलाको हत्या गरेको खुलेको छ ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–५ मनहरपुर बुडन्तपुरस्थित माइतीघरमा विगत १३ वर्षदेखि बस्दै आएकी ४२ वर्षीया सरजहाँ दर्जीको हत्या गरी हातका औँलाहरु तान्त्रिक विधिको लागि भन्दै बजारमा बिक्री गर्न बजार पुर्याउने गिरोहलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–२ नन्दनगर बस्ने ३९ वर्षीय अव्दुल कलाम मुसलमान, ४५ वर्षीय बेलाल अहमद मुसलमान, कपिलवस्तु शुद्धोधन गाउँपालिका–५ का ५५ वर्षीय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड–१ बनकट्टाका ६७ वर्षीय कर्णबहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस–२ हाल मध्यविन्दु नगरपालिका–७ का खेम बहादुर मल्ल रहेका छन् ।

यस्तो छ घटनाक्रम
२०७६ साल चैत १२ गते प्रहरीले कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ स्थित बेतिया नदीमा बोरामा महिलाको शव भेटायो । उक्त शवको प्रकृति हेर्दा हत्या गरेर बोरामा हालेको त्यसमाति पनि हातका औंला नै काटिएको पाएपछि प्रहरीले झन गम्भिर रुपमा अनुसन्धान थाल्यो ।

अनुसन्धान गर्दै जाँदा अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी दर्जीलाई भेट्न बोलाएर कपिलवस्तु शुद्धोधन गाउँपालिका–३ हर्दिहवाबाट बेतिया नदी छेउको चउरमा पुर्याएको खुल्यो ।

योजना अनुसार त्यहाँ पुर्याएको उक्त समूहले दर्जीको घाँटी थिचेर हत्या गर्यो र हत्यापछि उनीहरुले दुवै हातका औँलाहरू काटेर लाशलाई बोरामा राखी खोलामा फाले ।

त्यसपछि कृष्ण कुर्मीमार्फत् २ वटा औंला रामहरक यादवलाई र २ वटा औँला कर्णबहादुर सुनारलाई बिक्री गर्नका लागि दिए ।

प्रहरीले कुर्मीले दिएका ति २ वटा औंलाहरु ६७ वर्षीय कर्णबहादुर सुनारले बिक्री प्रयोजनको लागी खेमबहादुर मल्ललाई दिएको समेत फेला पार्यो ।

प्रहरीले एकपछि अर्को गर्दै सबै व्यक्तिहरुलाई पक्राउ गरेपछि बल्ल खुल्यो उनीहरुले हातका ति औंलाहरु लाखौं रुपैयांमा बिक्री गर्ने योजना बनाएका रहेछन् ।

कपिलबस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीका अनुसार उनीहरुले महिलाका हातका औंलाहरु प्रतिऔंला ७०÷८० लाख रुपैयाँमा बिक्री हुने विश्वासमा दर्जीको हत्या गरेर औंलाहरु काटेर लगेको खुलेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालतबाट म्याद गरी थप अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077