काठमाडौं । सर्वोच्च अदालतले नेकपाको एकतालाई खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्यूँझाएपछि अहिले दुई वटा दलले नै सरकार चलाइरहहेका छन् ।
नेकपामा हुँदा नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध बिग्रेर माधवकुमार नेपालसँग मिलेर नयाँ समूह गठन गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को माओवादी केन्द्र पनि हालसम्म सरकारमै छ ।
माओवादी केन्द्रले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रले समर्थन फिर्ता लिएको खण्डमा ओली नेतृत्वको सरकार अल्पमतमा पर्छ ।
त्यसैले यतिबेला प्रधानमन्त्री ओली आफ्नो पद जोगाउन जनता समाजवादी पार्टी (जसपा)लाई सरकारमा भित्र्याउन चाहन्छनन् ।
त्यसका लागि उनले हरेक तिकडम गर्दै आएका छन् । यदि जसपा सरकारमा नआएको खण्डमा पार्टी फुटाएर भए पनि ओली आफ्नो पद बचाउने अभियानमा छन् ।
ओलीलाई आफ्नो पद जोगाउन जम्मा १८ जना सांसदको खाँचो छ । त्यसैले पनि उनी जसपा सरकारमा आउन नचाहे फुटाएर भएपनि ल्याउने प्रयासमा छन् ।
यता, जसपाका केही नेताहरु भने सरकारमा जान खुट्टा उचालेर बसेका छन् । जसपाले आफ्ना नेता रेशम चौधरीलाई जेलमुक्त गर्नुपर्ने पहिलो शर्त राखेको छ ।
यहि बेला प्रधानमन्त्री ओलीले आफ्नो विश्वासिला युवा नेता महेश बस्नेतलाई जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशमलाल चौधरीबीच भेट्न डिल्लीबजार कारागारमै पठाएको चर्चा छ ।
यसैबीच, आज बिहान नेता बस्नेत र सांसद चौधरीबीच छलफल भएको छ ।बस्नेतले सांसद चौधरीसँग डिल्लीबजार कारागारमै भेट गरेका हुन् ।
पछिल्लो समय एमाले र जसपाबीच सत्ता समीकरण सहमतिको अन्तिम चरणमा पुगेको भनिएको बेला भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
जसपाका नेता बाबुराम भट्टराई र उपेन्द्र यादव केपी ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भनेर लागिरहेका बेला महन्थ ठाकुर पक्ष ओली सरकारमा सामेल हुनेगरी सहमतिको अन्तिम चरणमा पुग्न लागेको स्रोतले जनाएको छ ।
हिजोमात्रै गृहमन्त्री रामबहादुर थापाले थारु कल्याणकारी सभाले गरेको रेशम चौधरी रिहाइको आन्दोलनमा सहभागी भएर वार्तामा आउन आग्रह गरेका थिए। ।
पूर्वमन्त्री बस्नेत गृहमन्त्रालय र सरकारी वकिलसँग समेत आवश्यक परामर्श गरी भेट्न गएको बताइन्छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चौधरीमाथिको मुद्दालाई सहज ढंगले अघि बढाउने प्रक्रिया थालनी गरेको सन्देश बोकेर कारागार गएको स्रोतले बताएको छ।
चौधरीसँगको भेटमा भएको बारेमा भने बस्नेतले जानकारी दिएका छैनन्।