काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारविरुद्ध कसैले पनि अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नभएको दावी गरेका छन् ।
बालुवाटारमा सम्पन्न पार्टी संसदीय दलको बैठकमा सांसदहरुलाई आश्वस्त पार्दै ओलीले अविश्वास प्रस्ताव आउने सम्भावना नरहेको दावी गरेका हुन् ।
उनले भने–‘यो सरकारविरुद्ध कसैले अविश्वासको प्रस्ताव ल्याउन सक्ने सम्भावना नै छैन । अविश्वास प्रस्ताव ल्याउन सक्ने ल्याकत कसैमा देखिएको छैन ।’
त्यसैगरी उनले आफू नेतृत्वको सरकारविरुद्ध कसैले अविश्वास प्रस्ताव ल्याउँथ्यो भने प्रतिनिधिसभा पुनःस्थापना भएसँगै ल्याएर अहिलेसम्म ढालिसक्ने पनि बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
चैत ५ गते गठन भएको बोर्डमा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि सदस्य छन् ।
बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्नलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यद्यपी बैठकमा नेपाल–खनाल पक्ष सहभागी भएको थिएन भने उपाध्यक्ष बामदेव गौतम सहभागी भएका थिए ।