Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • बालबालिकाको खाजामा पनि भ्रष्टाचार !

    बालबालिकाको खाजामा पनि भ्रष्टाचार !

    अनलाइन नेपाल
  • मंगलबार, २५ फाल्गुन २०७७
  • 3.6K
    SHARES

    सर्लाही। हरिपुरलगायतका स्थानका विद्यालयमा बालबालिकाको लागि आउने खाजामा पनि भ्रष्टाचार भएको भन्दै स्थानीय अभिभावकले आक्रोश व्यक्त गरेका छन् ।

    हरिपुर नगरपालिका–८ को इन्द्रपुरमा रहेको इन्द्रपुर प्राविमा खुवाइने दिवा खाजामा गुणस्तरहीन खाजा खुवाई भ्रष्टाचार गरिएको भन्दै अभिभावकले आक्रोश व्यक्त गरेका हुन् ।



    विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापक मिलेर सरकारको तर्फबाट बालबालिकाको लागि आउने दिवा खाजामा भ्रष्टाचार गरी गुणस्तरहीन खाजा खुवाएको स्थानीय अभिभावक लक्ष्मी रायको आरोप छ । विद्यार्थीको खाजामा समेत भ्रष्टाचार गरी सरकारले तोकेअनुसारको खाजा नखुवाएको, खाजा बनाउन आएको घ्यू विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रजाक धोवी र प्रधानाध्यापक महेन्द्र गिरीले घरमा लगेर गुणस्तरहीन तेलमा खाजा बनाई खुवाउने गरेको विद्यालय व्यवस्थापन समितिकी सदस्य सीता श्रेष्ठ (मुखिया) ले बताईन् ।



    नेपाली बजारमा नामै नसुनेको सफारी, साजन, सेफलगायतको नामका तेलमा खाजा बनाएर खुवाउने गरेको र नगरपालिकाले तयार पारिदिएको दिवा खाजा तालिकामा हेरफेर गरिएको भन्दै आफूहरुले विरोध गरेको अभिभावकको भनाइ छ । आफूहरुले आफ्ना बालबालिकालाई दिनभर काम गरेर भए पनि बालबालिकाको स्वास्थ्यमा ध्यान दिएको तर विद्यालयले स्वास्थ्यमाथि खेलवाड गरी गुणस्तरहीन खाजा खुवाएर भ्रष्टाचार गरेको भन्दै विरोध गरेको उनीहरुको भनाइ छ । कक्षा ५ सम्म सञ्चालित विद्यालयमा करीब १०० विद्यार्थी अध्ययनरत रहेका छन् ।

    प्रधानाध्यापक गिरीले आफूहरुमाथि लगाइएको आरोपको खण्डन गर्दै नेपाल सरकार र स्थानीय सरकारले तोकेअनुसारको नै खाजा खुवाउने गरेको बताउनुभयो । विद्यालयमा घ्यू नआएको र अभिभावकले आरोप लगाएअनुसार घ्यू आफूहरुले नलगेको उनले बताए ।

    त्यस्तै हरिपुर नगरपालिकाका शिक्षा शाखा प्रमुख नागेश्वर यादवले नगरले तोकेअनुसारको नै खाजा खुवाएको र यदि कुनै विद्यालयले नगरले तोकेअनुसारको खाजा नखुवाएको पाइएमा आवश्यक कारवाही गर्ने बताए । उनले तत्कालै नगरभित्रका सबै विद्यालयको स्थलगत अनुगमन गरी नगरले तोकेअनुसार भए नभएको अनुगमन गर्ने बताए ।

    स्थानीय सरकारले हरेक दिन फरकफरक परिकारको खाजा खुवाउनुपर्ने भन्दै तालिका तोकेको छ भने नेपाल सरकारले प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजा खुवाउन रकमको व्यवस्था गरेको छ । कतिपय विद्यालयमा बजारमा पाइने प्याकिङ भएका बजारको खाजा पनि खुवाउने गरेको पाइएको अभिभावकले बताएका छन् । -रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार