दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सत्तारूढ नेकपामा देखिएकाे संकटको मुख्य कारक पुष्पकमल दाहालको अभियोगपत्र रहेको बताएका छन् ।
ओली निकट नेकपाको शुक्रबार तुलसीपुरमा आयोजित अगुवा कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै पोखरेलले नेकपा अध्यक्ष दाहालले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पेस गरेको अभियोगपत्रले नै प्रतिनिधिसभा विघटन र पार्टी विभाजनमा पुर्याएको उनले बताए । उक्त अभियोगपत्र फिर्ता लिन पटकपटक अनुरोध गर्दा पनि दाहालले नमानेका कारण अहिलेको स्थिति भोग्नुपरेको उनकाे भनाइ थियाे ।
‘मैले तत्कालै भनेको थिएँ, यो प्रस्ताव पार्टी हितमा छैन । अर्का अध्यक्ष ओलीलाई अर्को प्रस्ताव बनाउन समय दिनु पनि पार्टी एकता विपरीत छ भनें,’ उनले भने,‘पछि दुवैजनाले प्रस्ताव फिर्ता लिनुहोस् भनेर मैले नै अनुरोध गरें । प्रतिनिधिसभा विघटन भएको दिन बिहानसमेत दाहाललाई भेटेर पार्टीलाई संकटबाट बचाउन अनुरोध गरेँ तर मान्नुभएन ।’
अहिलेसम्मका कम्युनिष्ट इतिहासमा आरोपपत्र नै पार्टी विभाजनका मुख्य कारण भएको स्मरण गर्दै पोख्रेलले अहिले पनि त्यस्तो अवस्था आएको बताए । ‘कसैलाई पार्टी अध्यक्ष हुन मन छ भने महाधिवेशन गरौं भनेर ओलीले प्रस्ताव गर्नुभयो तर त्यसका लागि दाहाल र माधव नेपाल तयार हुनुभएन,’ उनले भने,‘लोकतान्त्रिक प्रक्रियामा जान नचाहने तर पद् चाहिने मनस्थितिले समस्या ल्याएको हो ।’