Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

कांग्रेस केन्द्रीय समिति बैठक : चुनावको स्वागत गर्न केन्द्रीय सदस्यहरुकाे सुझाव

काठमाडौं । नेपाली कांग्रेसकोे केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा निकटका केन्द्रीय सदस्यहरुले चुनावको स्वागत गर्नुपर्ने बताएका छन्।

सोमबार केन्द्रीय कार्यालय सानेपामा बसेकाे बैठकमा देउवा पक्षधर नेताहरु एनपी साउद र डा. नारायण खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको मध्यावधि चुनावको स्वागत गर्नुपर्ने बताएका हुन्।

‘प्रधानमन्त्रीले जनादेश लिन्छु भन्ने, तर हामी विपक्षमा बस्नेचाहिँ डराउने ?,’ साउदले बैठकमा राखेको अभिव्यक्तिलाई उद्धृत गर्दै एक नेताले भने ।

यस्तै डा. खड्काले अन्त्यहिन आन्दोलन गर्न नहुनेमा जोड दिएका छन्। आन्दोलनको निष्कर्ष के निस्कन्छ भनेर आकलन नगरी आन्दोलन गर्न नहुने उनको भनाइ थियो। ‘अन्त्यहिन आन्दोलन पनि कसैले गर्छ ? त्यसको निष्कर्ष के निस्कन्छ?,’ खड्काले भनेका थिए।

देउवा निकट नेताहरुले निर्वाचनको स्वागत गर्नुपर्ने अभिव्यक्ति दिएपछि संस्थापन इतर समूह भने झस्किएको छ। ‘उहाँहरुको अभिव्यक्ति नै शेरबहादुर दाइको अभिव्यक्ति हो भने विषय निकै गम्भीर छ,’ संस्थापन इतर समूहका एक केन्द्रीय सदस्यले भने, ‘उहाँहरुको भनाइ व्यक्तिगत हो भने हेर्दै जाऔं के निष्कर्ष निस्कन्छ।’

बैठकमा नेता महेश आचार्यले नेकपाले गरेका गल्तीका विरुद्धमा नेकपासँगै मिलेर आन्दोलन गर्न नहुने बताएका थिए। उनले संसद् विघटन गर्ने र मध्यावधि घोषणा गर्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जत्तिकै अन्य नेताहरुको पनि दोष रहेको बताएका थिए।

‘संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, नियुक्ति, संसद् विघटन र मध्यावधि घोषणा गर्ने काममा प्रधानमन्त्री जत्तिकै दोष नेकपाको पनि छ,’ बैठकमा आचार्यले भनेका थिए, ‘त्यसैले नेकपाले गरेको गल्तीका विरुद्ध नेकपासँगै मिलेर आन्दोलन नगरौं। कांग्रेस एक्लैले आन्दोलन गर्नुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077