काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् ।
नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ओली कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न ११ बजे खुमलटार पुगेका हुन् । प्रधानमन्त्री खुमलटार जाने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था शनिबार बिहानैबाट कडा पारिएको थियो । ओली यसअघि २०७४ सालमा खुमलटार गएका थिए ।
पार्टीभित्र आन्तरिक संघर्ष चर्किएको बेला ओली प्रचण्डलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ । कतिपयले यसलाई ओली लचक बनेको रुपमा अर्थ्याएका छन् ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आएका छन् । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिएका छन् । यद्यपि पार्टीभित्र अल्पमतमा परेका उनीमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड–नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएका छन् ।
यसअघि बिहीबार र शुक्रबार प्रचण्ड र ओलीबिच बालुवाटारमा भेटवार्ता भएको थियो । ती भेटवार्ता सकारात्मक बन्न सकेका थिएनन् । गत मंगलबार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाभित्रको विवाद थप उत्कर्षमा पुगेका छ।
Leave a Reply