काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले २९ गते गर्ने भनेको सरकार विरोधी प्रदर्शनको तयारी तिब्र पारेको छ ।
प्रदर्शनका लागि १० वटा नारा तय गरेको कांग्रेसले शनिबार भिडियोमार्फत आम जनतालाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
शनिबार कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भिडियो सन्देशमा यस्तो आह्वान गरेका हुन् ।
शुक्रबार कांग्रेसले विज्ञप्ति जारी गर्दै १० बुँदे नारा सार्वजनिक गरेको थियो।
प्रवक्ता शर्माले देशभर गर्न लागेको विरोध प्रदर्शनमा सर्वसाधारणलाई सडकमा ओर्लन आग्रह गर्दै एक भिडियो सार्वजनिक गरेका छन् ।
प्रवक्ता शर्माद्वारा प्रस्तुत भिडियोमा भनिएको छ–‘यही मंसिर २९ गते सोमबार ७७ जिल्लामा हामी एकसाथ सडकमा ओर्लन लाग्दैछौँ, विसंगतिहरुको विरुद्धमा, लोकतन्त्रको पक्षमा। तपाईं त्यो दिन के गर्दै हुनुहुन्छ ?जनता कोरोनाको मारमा रहेको, सरकार सत्ताको जित हारमा छ तपाईं सरकारलाई कडा दबाब दिन चाहनुहुन्छ भने मंसिर २९ गते सडकमा आउनुहोस्।’
प्रवक्ता शर्माले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई पक्राउ गरिएको, महिला हिंसा, भ्रष्टाचार, अनियमितता, कोभिड संकट, जनताको अधिकार एक एक गरेर खोस्दै गएको भन्दै सर्वसत्तावादलाई रोक्न तथा भ्रष्टाचारका विरोधमा सरकारलाई कठघरमा उभ्याउनका लागि पनि सडकमा आउनुपर्ने भिडियोमा आह्वान गरेका छन् ।