बुटवल । प्रहरी दिवसकै दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल कार्यालयले चार लाख घुससहित हवल्दार दम्पत्तीलाई पक्राउ गरेको छ।
अख्तियारको टोलीले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी र उनकी श्रीमतीलाई चार लाख घुस लिएको आरोपमा पक्राउ गरेको हो। ।
रुपन्देहीको सियारी गाउँपालिका-७ स्थित खनाल मिठाइ पसल नजिकबाट हवल्दार दम्पती रंगेहात पक्राउ परेको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले वताए।
अख्तियारका अनुसार प्रहरी थुनामा रहेका आरोपीलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत हबल्दार दम्पत्तीले घुस लिएका थिए ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
सो प्रकरणमा जिल्ला प्रहरी कार्यालय रुपेन्देहीका प्रमुख एसपी प्रबिण पोखरेल र इप्रका बुटवलका प्रमुख डिएसपी प्रतितसिंह राठौरमाथि समेत छानबिन गर्ने अख्तियारको तयारी छ ।
अख्तियार स्रोतका अनुसार हवल्दार सहनीको बारेमा पटक -पटक उजुरी परे पनि एसपी पोखरेल र डिएसपी राठौरले उनलाई संरक्षण दिंदै आएका थिए।
हवल्दार सहनीको आचरणबारे जानकार हुँदा समेत उनीमाथि सामान्य स्पष्टिकरण समेत सोधिएको थिएन । जसका कारण एसपी पोखरेल र डिएसपी राठौर नै शंकाको घेरामा परेका छन् ।
रोचक कुरा त के छ भने रुपेन्देहीका एसपी पोखरेल अख्तियारबाट सरुवा भएर आएका हुन। उनी अख्तियारको स्टीङ अप्रेसनका प्रमुख समेत थिए ।
आयोगमा बसी आफ्नै संगठनका अधिकृत बिरुद्ध उजुरी हालेर त्यसको बारेमा मिडियामा दिने काम पोखरेलले गर्दथे । अहिले अख्तियारको स्टीङ अप्रेसन उनैतिर फर्किएको छ ।
अख्तियारमा रहंदा एसपी पोखरेलले प्रहरीभित्र आफ्ना बिरोधी र प्रतिस्पर्धीलाई ठेगान लगाउनका लागि उजुरी हाल्न लगाउने र छानबिन गराउने गरेको आरोप लाग्ने गरेको थियो ।
अबकासको मुखमा रहेको बेला अख्तियारका प्रमुख आयुक्त नबिन घिमिरेको दबाबमा पोखरेलको रुपन्देहीमा सरुवा भएको थियो ।
Leave a Reply