काठमाडाैँ। बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए ।
आफैँले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए । वरपर बसेर हेर्नेहरुले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए । महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ । अधिकारीले भने, “म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु ।”
यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो । यहाँ ३५ हजार जनसङ्ख्या रहेको अधिकारी बताउछन् । भरतपुरको मुख्य शहरी क्षेत्र सँगै रहेकाले यहाँ न्यून वगका सुकुम्वासीदेखि सम्पन्नसम्म बसोबास गर्दछन् । वडा सदस्यहरुसहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरीक्षक वसन्त पौडेल, जलदेवी स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवी कँडेल, वडा सचिव ओमप्रकाश न्यौपानेले अधिकारीलाई साथ दिइरहेका छन् ।
वडामा हालसम्म १६ जनालाई कोरोना सङ्क्रमण भइसकेको कँडेलले बताए। तीमध्ये एक जनाको मृत्यु भएको छ भने नौ सक्रिय सङ्क्रमित छन् । जिल्लाका सात स्थानीय तहमा ९८ वडा छन् । ती अधिकांश स्थानमा वडाध्यक्ष यसरी नै रोग नियन्त्रणका लागि जुटिरहेका छन् ।
भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित घरमा बस्दा दिनभर फोनमै काम गरिरहनु पर्ने र निषेधाज्ञा लागु गराउन सडकमा जानुपर्दा छुच्चो हुनुपरेको बताए । उनले भने, “निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो । हामी सबै सचेत हुनुपर्छ ।” रासस