Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • काम गर्न नसकेपछि ‘दायित्व राज्यले लिनुपर्छ’ भन्दै पन्छिए धुर्मुस, रंगशाला निर्माण अलपत्र

    काम गर्न नसकेपछि ‘दायित्व राज्यले लिनुपर्छ’ भन्दै पन्छिए धुर्मुस, रंगशाला निर्माण अलपत्र

    अनलाइन नेपाल
  • शनिबार, २ असोज २०७८
  • 7.4K
    SHARES

    काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण कार्य अलपत्र परेको छ । हास्य कलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को संस्था धुर्मुस–सुन्तली फाउण्डेसनले चितवनमा निर्माण गरिरहेको रंगशालाको काम रोकेको हो । चितवनको भरतपुर–१५ मा निर्माण भइरहेको रंगशालाको काम ३५ प्रतिशत सकिएपछि पैसा अभावका कारण रोकिएको अभियन्ता तथा हास्य कलाकार धुर्मुसले बताएका छन्।

    आर्थिक अभावकै कारण रंगशालाको काम रोकिएपछि धुर्मुस–सुन्तली फाउन्डेसनले सरकारलाई हारगुहार गरेको छ । अहिलेसम्म प्यारापिटको पहिलो चरणको काम सकिएको छ । तीन हजार दर्शक क्षमता भएको प्यारापिटका २ सय ८६ वटा पिलर उठाइएको छ । चौरमा दुबो गोड्ने काम भइरहेको छ । चौरको काम ९५ प्रतिशत सकिएको छ । प्यारापिट तयार भएर भीआईपी टावर बनाउन थालिएको थियो । टावर ‘वान’ को पिलर उठाइसकेर बिम ढलान हुँदै छ । ८ वटा पिच बन्न बाँकी छन् ।



    तर दोस्रो टावरको काम हुँदै गर्दा धुर्मुस–सुन्तली फाउन्डेसनले रंगशाला निर्माण रोकेको हो । एक वर्षमा ३५ प्रतिशत काम सकिएको र पहिलो चरणको प्यारापिट निर्माण भइसकेकाले अब पिच बन्नेबित्तिकै जुनसुकै खेल खेलाउन मिल्ने कट्टेलको भनाई छ ।



    ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ ऋण लागेको उनको भनाई छ । एकै पटक धेरै ठूलो रकम खर्च गर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यले नधान्ने भन्दै काम रोकिएको उनले बताए । हालको अवस्थामा अनुमान गर्दा रंगशालाको काम पूरा गर्न २ अर्ब ५० करोड रुपैयाँ लाग्ने कट्टेलले बताएका छन् ।

    २०७५ माघ १६ मा राज्यको सहभागितामा चितवनको रामपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परियोजना घोषणा भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री शशांक कोइराला, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, कृषि वन विश्वविद्यालयका उपकुलपतिलगायत मन्त्री, सांसद, खेलाडीको उपस्थितिमा घोषित परियोजना अगाडि त बढ्यो । तर, ६ महिनाभित्र तयार गर्ने भनिएको डीपीआर समयमा तयार हुन सकेन । प्राविधिक कारणले तीन महिना परियोजना रोकिन पुग्यो । डीपीआर बन्नै झण्डै १० महिना लाग्यो । प्रारम्भिक चरणमा बजेट थिएन । फाउन्डेसनको मौज्दात २ करोड ८६ लाख ३७ हजार ११ रुपैयाँ खर्च गर्ने निर्णयसँगै रंगशाला निर्माण अगाडि बढ्यो ।

    विभिन्न आमा समूह र व्यक्तिले निर्माणाधीन क्षेत्रमै आएर रकम सहयोग गरे । संस्थागत हिसाबमा स्वदेश–विदेशदेखि रकम संकलन गरेर पठाउन थालेपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण व्यवस्थापन समिति ऊर्जाशील बन्दै गयो । त्यसबीच धनधान्याचल महायज्ञ भयो । महायज्ञमा ६९ करोड ४५ लाख, ५६ हजार रकम बोलकबोल भयो । उनीहरू झनै उत्साहित भए । परियोजनाको घोषणा हुँदै गर्दा पनि ५÷६ करोड रकम घोषणा भएको थियो ।

    विभिन्न व्यक्ति र संस्थाले घोषणा गरेको अधिकांश रकम नउठेपछि करिब १६ करोड रुपैयाँ उधारो भएसँगै फाउन्डेसनले रंगशालाको काम रोकेको जनाएको छ । कोम रोकिएपछि त्यहाँ बनेका पूर्वाधार अलपत्र हुने भएका छन् । कोरोना संक्रमणको महामारीले छोप्दा पनि नरोकिएको काम उधारोको दबाब थेग्न नसक्ने अवस्थामा पुगेपछि रोक्नुपरेको कट्टेलले बताए ।

    कट्टेलले भने–‘१/२ करोड भएको भए ल है भन्न सकिन्थ्यो, १५/१६ करोडको हाराहारीमा उधारोमा काम भइसकेपछि त निर्माण सामग्री जुटाउनै कठिन भयो । दाताहरूले आफ्नो गच्छेअनुसार सहयोग गरिरहनुभयो तर अहिले २/४ लाख खर्चेर २/४ पिलर अगाडि बढाइहालौं भन्ने अवस्था रहेन, अब त करोडौं रकम खर्चेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’

    काम रोकिएपछि कट्टेल अब रंगशाला निर्माणको दायित्व सरकारले लिनुपर्ने बताउन थालेका छन् । उनले सञ्चारमाध्यमसँग भनेका छन्–‘अब रंगशालाको जग खन्नुपर्दैन, संरचना बन्न बाँकी हो । यसमा त जनताको पसिना छ । विदेशमा दुःख गर्ने नेपाली दाजुभाइ, दिदीबहिनीले पैसा पठाएर हामी यो अवस्थामा पुगेका छौं । हरेक बालुवा, गिट्टी, इँटामा उहाँहरूको योगदान छ । त्यसैले अब रंगशालामा राज्यको दायित्व रहन्छ । गर्नैपर्छ जस्तो लाग्छ ।’

    अर्थमन्त्री जनार्दन शर्मालाई प्रस्तावना बुझाइसकेका उनले राज्यले रंगशाला निर्माणको काम प्राथमिकतामा राखेर सहयोग गरेमा एक वर्षभित्र गौतम बुद्ध रंगशाला निर्माण गर्ने दाबी गरेका छन् ।

    सर्वसाधारण जनतासँग सहयोग उठाएर निर्माण थालिएको रंगशालाको काम बीचमै अलपत्र पर्दा चौतर्फी टिकाटिप्पणी भइरहेको छ। फाउण्डेसनले रंगशालाको काम रोक्दा धुर्मुस–सुन्तलीकै आलोचना पनि भइरहेको छ।

    पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले भने रंगशाला निर्माणका लागि पैसा नभएर सोच र ज्ञानको कमी मुख्य समस्या भएको बताएका छन् । उनले दुई दिन अघि १२ वटा ट्विट थ्रेडमार्फत धुर्मुस–सुन्तलीले निर्माण गरिरहेको रंगशालाको कामको समीक्षा गरेका छन्।

    यस्ता छन् डा. आचार्यले ट्वीटमार्फत उठाएका १२ बुँदा

     

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार