Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • एकदिनमा ६ सय ३० जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

    एकदिनमा ६ सय ३० जनाको कोरोना परीक्षण, सबैको रिपोर्ट ‘नेगेटिभ’

    अनलाइन नेपाल
  • शुक्रबार, २८ चैत्र २०७६
  • 2.2K
    SHARES

    काठमाडौं । एक दिनमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण आशंकामा गरिएका परीक्षणको नतिजा नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार २४ घण्टामा ६ सय ३० जनामा कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो। मन्त्रालयका अनुसार काठमाडौंमा ४०१, काठमाडौं बाहिर २२९ वटा परीक्षण भएका छन्।

    शुक्रबारसम्म तीन हजार ५२४ जनाको परीक्षण भइसकेको छ। कुनै पनि नयाँ संक्रमित नथपिएको मन्त्रालयले जनाएको छ। ‘प्रयोगशाला परीक्षणमा आजसम्म तीन हजार पाँच सय २४ टेष्ट भएका छन्’, नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता देवकोटाले भने, ‘नयाँ टेष्ट जम्मा ६ सय ३० जनाको भएको छ। जसमा उपत्यकाका चार सय एक र बाहिरका दुई सय २९ जना सबैको रिपोर्ट नेगेटिभ आएको छ।’ अहिले परीक्षणको क्रममा रहेका नमुनाको संख्या आठ सय बढी रहेको डा. देवकोटाले जानकारी दिए।



    ल्याबमा परीक्षण भइरहेका नमूनाको संख्या ८ सय भन्दा बढी रहेको मन्त्रालयले जनाएको छ। दायरा बढाएसँगै परीक्षणको संख्या पनि बढेको छ। त्यसैगरी क्वारेन्टाइनमा ८ हजार ७६० जना रहेका छन्। १२५ जना आइसोलेसनमा छन्। उपत्यकामा १५ र बाहिर ११० जना आइसोलेसनमा छन्। रेड जोनमा रहेकाको संख्या १८४ जना रहेको मन्त्रालयले जनाएको छ।



    र्‍यापिड डाइनेस्टिक प्रविधिबाट गरिने टेस्ट पनि भइरहेको छ। प्रत्येक प्रदेशलाई ५ हजार वितरण गरिएकोमा कैलालीमा कुल ४७६ परीक्षण भएको छ। सबै नतिजा नेगेटिभ आएको छ। त्यसैगरी कपिलवस्तुमा २१, बागलुङमा १९ वटा टेस्ट भएकोमा सबै नेगेटिभ छन्। अन्य जिल्लामा पनि परीक्षण भइरहेको मन्त्रालयको भनाई छ। नतिजा र रिपार्टको संख्या आउन बाँकी छ।

    विराटनगरको कोशी अस्पतालमा पीसीआरबाट नमूना परीक्षण सुरु भएको छ। यससँगै उपत्यकाबाहिर १० गरी कुल ११ बाट ठाउँमा परीक्षण भइरहेको छ। अन्य जिल्लामा जडान कार्य भइरहेको छ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको टोलीले बिहीबार डडेल्धुराबाट १९९ र बैतडीबाट ४२५ र कर्णाली प्रदेशबाट ८५ गरेर कुल ७०९ वटा नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।

    हालसम्म संक्रमित संख्या ९ जना रहेको छ। उपचारमा रहेका ८ जनामध्ये टेकुमा २, बागलुङमा २ र धनगढीमा ४ जना छन्। सबैको अवस्था सामान्य छ। कोरोना भाइरस र अन्य विरामीको उपचारका लागि अस्पताल तोकिएको छ। कुनले के काम गर्ने भनेर कोभिड १९ र अन्य रोगको उपचारका लागि अस्पतालहरुलाई पत्राचार गर्न लागिएको मन्त्रालयले जनाएको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार