Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • भारतमा कोरोनाको सँक्रमण बढ्दा नेपालमा त्रास!

    भारतमा कोरोनाको सँक्रमण बढ्दा नेपालमा त्रास!

    अनलाइन नेपाल
  • बिहिबार, २७ चैत्र २०७६
  • 2.6K
    SHARES

    फाइल तस्विर

    काठमाडाैँ। भारतमा कोरोना संक्रमणको उच्च फैलावटले नेपालमा पनि जोखिम बढाएको छ । विशेषगरी नेपाली कामदारको बाक्लो उपस्थिति रहेको महाराष्ट्र, गुजरात, कर्नाटक, दिल्लीमा कोरोनाको संक्रमण देखिएको हुँदा विशेषगरी फर्केकाहरूबाट कोरोना संक्रमण फैलन सक्ने जोखिम पनि त्यत्तिकै छ ।

    पछिल्लो समय सुदूरपश्चिम क्षेत्रमा पहिचान भएका कोरोना बिरामीहरू मुम्बईबाट फर्केमध्ये केहीमा कोरोना भाइरस संक्रमण देखिनुले त्यो पुष्टि हुन्छ । र, यी राज्यहरूबाट फर्केका नेपालीहरूको वास्तविक अभिलेख नराखिएकाले पनि सुदूरपश्चिम र अन्य भागमा संक्रमणले कुन रूप लिएको छ भन्ने यकिन गर्न गाह्रो छ ।



    अर्कोतर्फ खुला सीमा भएका कारण भारतले कोरोना भाइरसको महाव्याधिमाथि जति चाँडो नियन्त्रण पाउँछ त्यसले पनि नेपालमा यसको संक्रमणको फैलावट निर्धारण गर्नेछ । विशेषगरी नेपालसँगका सीमावर्ती राज्यहरू बिहार र उत्तरप्रदेशमा महामारीले कुन रूप लिन्छ त्यसले पनि नेपालमा कारोनाको जोखिमको तस्बिर बताउनेछ । अत्यधिक जनघनत्व भएका भारतका यी दुई राज्य स्वास्थ्य सुविधाका हिसाबले सबैभन्दा कमजोर मानिन्छन् ।



    दक्षिण भारतीय राज्यहरूले संक्रमितको पहिचान र परीक्षणलाई तीव्रता दिए पनि अत्यधिक जनघनत्व भएका उत्तरप्रदेश, बिहारलगायतका राज्यको अवस्था निकै दयनीय छ । सीमित परीक्षणै कारण नेपालसँग सीमा जोडिएका उत्तर प्रदेश र बिहारमा महामारीको वास्तविक अवस्था बाहिर आउन सकेको छैन ।

    दुई राज्यमा मात्रै ३५ करोडको बसोबास छ । यी दुई राज्यबाट ठूलो संख्यामा रोजगारीका लागि दिल्ली, महाराष्ट्र, बैंग्लोरलगायत राज्य जाने गरेका छन् । कोभिड–१९ को त्रास बढ्दै गएपछि २४ मार्चदेखि लागू भएको लकडाउन हुनुअघि नै ती राज्यमा रहेका कामदारको ठूलो हिस्सा घर फर्केका थिए । कतिपय त हिँडेर नै गएका थिए ।

    भाइरसको संक्रमण बढी देखिएका राज्यबाट आआफ्ना गाउँ फर्केका ती आप्रवासी कामदारहरूको व्यवस्थित ढंगले क्वारेन्टाइन र स्वास्थ्य परीक्षण नभएकाले यूपी र बिहारमा भित्रभित्रै संक्रमणले भयावह रूप लिएको हुन सक्ने आशंका पनि गरिएको छ ।

    त्यसमाथि यति धेरै जनसंख्या भएर पनि यी दुई राज्यमा मात्र चारवटा स्थानमा मात्र कोरोना भाइरसको परीक्षणको सुविधा छ । त्यसमाथि आधारभूत स्वास्थ्य सेवाका हिसाबले पनि यी राज्य निकै पछाडि मानिन्छन् । जसले गर्दा यी राज्यको संक्रमणलाई नजिकबाट नियाल्दै आवश्यक कदम चाल्नुपर्ने आवश्यकता छ । अन्यथा नेपालले कोरोना महामारी नियन्त्रणका लागि जतिसुकै कडा कदम चाले पनि खुला सीमाका कारण त्यसको संक्रमण कुनै पनि बेला भित्रिनेछ ।

    पछिल्लो २४ घन्टामा भारतमा १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार ५ सय ४० जना नयाँ कोरोना संक्रमित फेला परेका छन्। यससँगै कोभिड १९ बाट संक्रमितको संख्या भारतमा ५ हजार ५ सय नाघेको छ। संक्रमितमध्ये ४ सय ७३ जना ठीक भइसकेका छन्। अहिलेसम्म १ सय ६६ जनाको भारतमा कोभिड १९ का कारण मृत्यु भइसकेको छ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार