विं.सं. २०५८ साल जेठ १९ गते शुक्रबार तत्कालीन राजा विरेन्द्रको अन्त्य भएपछि देशमा विपदको अध्याय सुरु भयो । हुनत: त्यो भन्दा पहिले पनि विपद आइनपरेका भने होइनन्, आउथे पनि । तर, जब नेपालमा राजा ज्ञानेन्द्र शासनको पनि अन्त्य भयो तब विपदले भने मुल: रुपमै जरा गाडेको देखिन्छ ।
बुढापाकाले भन्ने गर्थे नी, ‘सतीले सरापेको देश’ कहिले उभो लाग्न सक्दैन भनेर, खै ? सतीले सरापिन् या सरपिनन्, त्यो उनैलाई थाहा होला । तर, अहिलेको देशको अबस्था हेर्दा भने उनले विपनामा मात्र नभएर सपनामा समेत सरापेको जस्तो आभास भएको छ।
गयो राणा शासन, आयो पन्चायत, फाले पंचायत, जन्माए राजतन्त्र, हटाए राजतन्त्र, भित्र्याए लोकतन्त्र-गणतन्त्र । देश र जनताको मौलिक हकलगायत राज्यको सेवा सुबिधाबाट लाभ लिने उद्देश्यले राजनीतिक दलदेखि जनताले सडक आन्दोलनमार्फत् भित्र्याएको लोकतन्त्र-गणतन्त्रमा भने जनताले कहिल्यै पनि खुशीको हाँसो र सुकुनको लामो सास फेन सकेका छैनन् ।
भनिन्छ मानव जीवनमा जे-जे आइपर्छ त्यसको सामना गर्ने पर्छ, यहाँ त देशमा निरन्तर विपद (समस्या) आइरह्यो एकपछि अर्को गरेर, नदी झैँ बगेर… कहिले मानव निर्मित विपद (नेपाल बन्द, नाकाबन्दी, राजनीतिक दलहरुको सरकारमा हानथाप) आइलाग्छन त कहिले प्राकृतिक विपद (भूकम्प, कोरोना भाइरस, बाढी-पहिरो) । जे जस्तो भए पनि नेपाली जनता राजनीतिक दलहरुको सत्ता र शासनहरुसँग जुधेर बाँच्दै आइरहेका बेला प्रकृतिले पनि थप विपदसँग जुध्न चुनौती खडा गरिदिनु कुनै ठूलो कुरा भने होइन।
अहिले कोरोना महामारीका कारण निषेधाज्ञामा घर भित्र थुनिएर रहेका बेला आएको बाढी पहिरोले गाउँ बस्ती नै सखाप पारेको छ । मंगलबार साँझ परेको अविरल बर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लाहरुमा आएको बाढीले दर्जनौं घर बगाएको छ भने थुप्रै मान्छेहरु बेपत्ता भएका छन्।
यस्तै, नेपालको राजनीतिक दलहरुमा पनि पछिल्लो समय सत्ताको विपदसँगै बाढी आएको देखिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्द संसद विघटनमा दायर भएको मुद्दा सर्वोच्चमा विचाराधीन छ भने बिपक्षी गठबन्धनहरुले आफू बहुमतको दाबी गरिरहेका छन् । अझ अर्को कुरा त प्रधानमन्त्री ओली अध्यक्ष रहेको नेकपा एमालेको आन्तरिक कलहले गर्दा बिगत केही महिना यता सरकार गठबन्धनमा निकै चर्चा पाएको छ । जसका कारण राजनीतिक दलहरुको राजनीति र सत्ता नै उथलपुथल भएको छ । जे होस् त्यसको प्रत्यक्ष असर भने जनतामा नै परेको पाइन्छ।
यसैबेला,सरकारलाई सत्ता विपदको बेला आइलागेको कोरोना र बाढी-पहिरो विपतले गर्दा सत्ता व्यवस्थापन गर्न र राहत तथा उद्धार गर्न झनै चुनौती खडा गरिदिएको छ। सरकारले कोरोना भाइरस रोकथाममा आवश्यक पहल समेत जुटाउन नसकेको बेला फेरि बाढी र पहिरोले अर्को विपद सरकारमाथि थुपरिदिएको छ । यस्तो बेला सरकारलाई सत्ता जोगाउनु की व्यवस्थापनमा लाग्ने भन्ने जस्तो भएको हामी बुझ्न सक्छौं, जसका कारण हो उनीहरुको सत्ता मोहको गतिबिधि।
केन्द्रमा बसेर सत्तामा साझेदारी गर्न आगि सर्ने पार्टीका अध्यक्ष र सभापतिहरु जिल्ला-गाउँमा अहेका दु:खमा परेका नेता एवं कार्यकर्ताहरुलाई उल्टै राहत र उद्धारमा जुट्न निर्देशन दिइरहेका छन्। सत्ताको लागि सडकमा आन्दोलन गर्ने र सर्वोच्च अदालतको ढोका समेत ढक-ढक्याउन पछि नपर्ने राजनीतिक दलका नेताहरु विपदको बेला जनतासँग प्रत्यक्ष रूपमा काँधमा काँध थापेर साथ हौसला दिनुको सट्टा बजेट र राहत निकासा गर्न फोन घुमाउँदै जाडो भए हिटर र गर्मी भए एसीमा आनन्द लिइरहेका छन्।
विपदमा परेकालाई हौसला दिन कार्यकर्तालाई खटाएर मात्रै हैन आफै उपस्थित भएर कान्लाको डिलमा लौरोको सहायताबाट उभिदिनु त्यो नै मुख्य राहत र आत्मबल हुन्छ। कहाँ के भैरहेको छ देशमा कति क भैरहेको छ, महामारी र विपदबात कति मान्छे मरिरहेका छन् भन्नेकुरालाई बिर्सेर अझै पनि कसरी सत्ता आफ्नो बनाउने कसरी म त्यहाँ पुग्ने भन्नेतिर ध्यान गएको देख्दा जनता अचम्मित छन् ।
आशा गरौँ सरकारले कोरोना र बाढी पीडित जनतालाई उचित व्यबस्थापन गरोस् र राजनीतिक दलहरु पनि यो आपतकालिन अवस्थामा केही अगाडि बढेर जनताको सेवामा जुटुन । अनि तिनै जनताले फेरि पनि उनीहरुलाई पक्कै मन्त्री र प्रधानमन्त्री बनाउनेनै छन् । जनता नै नरहे केको पद ? यता पनि राजनीतिक नेतृत्वले बेलैमा ध्यान जान जरूरी छ ।
Leave a Reply