काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इण्डियन्सले हात पार्न सफल भएको छ ।
दिल्ली क्यापिटल्स फाइलनमा मुम्बई इण्डियन्ससँग पाँच विकेटले पराजित भएको छ। मंगलबार दुबईमा भएको फाइनलमा दिल्लीले दिएको १५७ रनको लक्ष्य मुम्बईले पाँच विकेट गुमाएर जित हासिल गरेको हो ।
मुम्बईलाई उपाधि दिलाउन फाइनलमा बलिंगतर्फ ट्रेन्ट बोल्ट र जयन्त यादवले सनसनीपूर्ण योगदान दिए भने ब्याटिंगमा कप्तान रोहित शर्मा, इशान किसन र सूर्यकुमार यादवले योगदान दिए।
टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको थियो ।
मार्कस स्टोइनिस पहिलो बलमै आउट हुँदा दिल्लीलाई ठूलो झड्का लागेको थियो । दोस्रो ओभरमा दिल्लीका अर्का ब्याट्सम्यान अजिन्क्या रहाने आउट भए भने तेस्रो ओभरमा शिखर धवन आउट भए ।
पहिलो बलमै स्टोइनिस र दुई रन बनाएका अजिन्क्या आउट भएका थिए । दुवै विकेट ट्रेन्ट बोल्टको नाममा रह्यो। त्यसैगरी दिल्लीका भरोसा मानिएका अर्का ओपनर शिखर धवनलाई १५ रनमै जयन्त यादवले बोल्ड आउट गरे ।
सुरुवात खराब भए पनि दिल्लीका लागि कप्तान श्रेयस ऐर र ऋषव पन्तले अर्धशतकीय इनिङ्स खेल्दै दिल्लीलाई उकासे । पन्तले ३८ बलमा ५६ रन बनाए भने कप्तान श्रेयसले नटआउट ५० बलमा ६५ रन बनाए ।
दिल्लीका शिमरोन हेटमायर पाँच रनमा आउट भए भने अक्षर पटेल नौ रनमा आउट भए । कासिगो राबडा अन्तिम बलमा शून्य रनमै आउट भएका थिए । मुम्बईका लागि रोहित शर्माले ५१ बलमा ६८ रन बनाए।
यस्तै इशान किसानले १९ बलमा नटआउट ३३ रन बनाएपछि टिमले पाँचौ पटक तथा लगातार दोस्रो पटक उपाधि उचाल्यो।
Leave a Reply