काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्नेमा जोड दिए ।
नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै उनले द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राखे ।
द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको पनि प्रचण्डले बताए ।
उनले भने–‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरु छन् । प्रमुख दलहरु नै पनि कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरु छ । तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौं ।’
Leave a Reply