Online Nepal
  • आइतबार, ४ कार्तिक २०८१
  • भैंसेपाटी हनि ट्रयापिङमा संगठित अपराध कसुर, इन्सपेक्टर अझै फरार

    भैंसेपाटी हनि ट्रयापिङमा संगठित अपराध कसुर, इन्सपेक्टर अझै फरार

    अनलाइन नेपाल
  • आइतबार, ४ कार्तिक २०८१
  • 255
    SHARES

    काठमाडौं । प्रहरीकै मिलेमतोमा हनि ट्रयापिङ भएको घटनामा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढेको छ ।

    संगठित शैलीमा व्यवसायीलाई थुनामा राखेर पैसा असुल गरिएको देखिएपछि जिल्ला प्रहरी परिसर ललितपुरले संगठित अपराधको कसुरमा अनुसन्धान गर्न अदालतबाट अनुमति लिएको छ ।



    प्रहरी प्रभाग, भैंसेपाटीमा इटहरीका व्यवसायीलाई थुनामा राखी बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख लेनदेन गरी छाडिएको थियो । सो समूहले विगतमा पनि त्यसैगरी धेरैलाई फसाइसकेको खुलेको छ ।



    प्रभागकी तत्कालिन प्रहरी प्रमुख प्रहरी निरीक्षक बिनुकुमारी शाही समेतको मिलेमेतामा त्यसरी असुली गरिएको थियो । निलम्बनमा रहेकी इन्सपेक्टर शाही हाल फरार छिन् ।

    उनका चालक हवल्दार महेन्द्र हमाल भने पक्राउ परिसकेका छन् । हाल ललितपुर प्रहरीले चार जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ ।

    हनि ट्रयापिङ गिरोहका नाइके ताज इस्लामसँग मिलेर इन्सपेक्टर शाहीले व्यवसायीलाई थुनामा राखेकी थिइन् ।

    डिएसपी नरहरी अधिकारी नेतृत्वको छानविन समितिको प्रतिवेदनका आधारमा इन्सपेक्टरमाथि समेत फौजदारी अभियोग अघि बढेको हो । घटनामा इन्सपेक्टरको मिलेमतोका प्रशस्त आधार भेटिएका छन् ।

    दशैंअघि नै पक्राउ पूर्जी जारी भएकी इन्सपेक्टर अझै फरार छिन् । उनले आरोपी ताजको मोबाइल समेत गायब बनाएकी छिन् ।

    बलात्कार मुद्दामा फसाइदिने भन्दै थुनामा राखेर मिलापत्र गराएको सूचना पाएपछि ललितपुर परिसरले सबैलाई जिल्लामा ल्याउन भनेको थियो ।

    लगत्तै उनले ताजको मोबाइल र मिलापत्रमा दिइएको १० लाखको चेक आफुले लिएर गायब बनाएकी हुन् ।

    यो विषय इस्लामले बयानमै उल्लेख गरेका छन् । आफुसँग मोबाइल मागेर लगेको र फिर्ता नगरेको उनले बताएका छन् । इस्लामको मोबाइलमा उनीहरुबीच पहिलेदेखि भएका कुराकानीका विवरण थिए ।

    इस्लामको एसपी कमल थापा अन्य प्रहरी अधिकारीसँगको सम्पर्क समेत बाहिर आउने भएपछि त्यसरी मोबाइल गायब बनाइएको अनुमान गरिएको छ । अर्की आरोपी सुष्मा विकको मोबाइलमा रहेका घटनासम्बन्धि प्रमाण समेत उनले नै मेटाएकी थिइन् ।
    इन्सपेक्टर शाहीले छानविन समिति समक्ष बयान दिन समेत अस्वीकार गरेकी थिइन् । सुनसरीमा भएको भनिएको बलात्कारको घटनामा उनले भैंसेपाटीमा ल्याएर थुनामा राख्नुले नै पूर्वयोजनाअनुसार नै उनको मिलेमतो देखिएको छ ।

    त्यसरी पक्राउ गरिएको र मिलापत्र गरिएकोबारे माथिल्लो कार्यालयलाई जानकारी समेत दिइएको थिएन । इन्सपेक्टर शाहीलाई अझै पक्राउ नगर्नुले कतै प्रहरी नेतृत्व उनलाई जोगाउन लागिपरेको त छैन भन्ने प्रश्न समेत उठेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार