Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • स्याल्पा रिम्पोछेको अरबौं शंकास्पद लगानी छानबिनमा, कसरी भित्र्याए कालोधन ?

    स्याल्पा रिम्पोछेको अरबौं शंकास्पद लगानी छानबिनमा, कसरी भित्र्याए कालोधन ?

    अनलाइन नेपाल
  • बिहिबार, २७ असार २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि त्यहाँको महानिर्देशक हुन चलखेल हुँदैआएको छ । विदेशबाट गैरकानुनी रुपमा ल्याएको कालोधन, भ्रष्टाचार लगायत अपराधजन्य कसुरबाट आर्जित सम्पत्तिको छानबिन गर्ने निकाय सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभाग पछिल्ला दिनमा बदनाम हुँदै गइरहेको छ ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग प्रेम भट्टराई र पुष्प शाहीको कार्यकालमा सर्वाधिक विवादमा पर्यो नै, कालोधन थुपार्नेहरुलाई क्लीनचिट दिंदा नेपालको छवि अन्तर्राष्ट्रिय रुपमा गुम्दै गएको छ ।



    उनीहरुकै कारण सम्पत्ति शुद्धीकरण निवारण मामिलामा नेपाल अझै पनि ग्रे लिष्टको जोखिममा छ । सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स(एफएटीएफ)अन्तर्गतको एशिया प्रशान्त समूह(एपीजी)ले नेपाललाई नकारात्मक सूचीमा राख्न प्रतिवेदन दिएसँगै विभागको नेतृत्व गर्नेहरु कतिसम्म अक्षम रहेछन् भन्ने पुष्टि भएको छ ।



    पूर्वमहानिर्देशक प्रेम भट्टराई र पुष्प शाहीले गम्भीर प्रकृतिका उजुरीमा मोलमोलाइ गर्ने र तामेलीमा हाल्ने काममात्र गरेर बिदा भए । हालका महानिर्देशक कमलप्रसाद भट्टराईमाथि प्रेम र पुष्पले बदनाम गराएको बिभागको छवि उच्च बनाउने जिम्मेवारी छ ।

    आर्थिक चलखेलका आधारमा तामेलीमा राखिएका गम्भीर प्रकृतिका सम्पत्ति शुद्धीकरणका उजुरी पुनः उधिनेर अनुसन्धान गर्नुपर्नेमध्यको एउटा फाइल हो कपनस्थित स्याल्पा गुम्बा तथा तेन्जिङ हिमालय फाउन्डेसनका अध्यक्ष स्लाल्पा तेन्जिङ रिम्पोछे शंकास्पद लगानी ।

    रिम्पोछेले ताईबान, हङकङ, बैंकक, सिंगापुरबाट गुम्बा र होटल बनाउने भनेर अरबौं रकम भित्र्याएको प्रमाणसहितको उजुरी विभागमा २०७७ मा परेको थियो । ताईवान, सिंगापुर र बैंकक गरी तीन देशमा WENCHENG CONGZHU नामको इन्टरनेशनल फाउन्डेसन संचालनमा छ ।

    जहाँ नेपालमा गुम्बा र होटल निर्माण गर्नका लागि भनेर स्याल्पा रिम्पोछेले रकम जम्मा गर्ने र अबैध हुन्डीमार्फत् नेपाल भित्र्याएर विभिन्न ब्यक्तिको नाममा जग्गा र गाडी खरिददेखि होटलहरुमा लगानी गरेको विभागको अनुसन्धानबाट खुलेको छ ।

    अनुसन्धानका क्रममा रिम्पोछेले उईटुप लामा, दोर्जे रिन्जी शेर्पा, थेन्डुप पाल्मु शेर्पा,थेन्दुप वाङ्दी शेर्पा, जिम्मी दोर्जे शेर्पा र हिजे पुटिङ तामाङका नाममा सम्पत्ति राखेको खुलेको छ । रिम्पोछेले सम्पत्ति शुद्धीकरण गरी बैधानिकताका लागि थेन्डुप र जिम्मी लगायतका नाममा घरजग्गा र अरु खालका सम्पत्ति लुकाउने गरेको सम्पत्ति शुद्धीकरण विभागमा परेको उजुरीमा उल्लेख छ ।

    रिम्पोछेले विदेशबाट अबैध रुपमा भित्र्याएको शंकास्पद लगानीबाट काठमाडौंका विभिन्न ठाउँमा ७० रोपनी भन्दा बढी घरजग्गा खरिद गरेको उजुरीमा उल्लेख छ । रिम्पोछेले तिब्बतीयन नागरिकलाई नेपालमा ल्याउने र नेपाली नागरिकता बनाएर उनीहरुको नाममा घरजग्गा र सम्पत्ति पास गर्ने तथा त्यसको लालपूर्जा र अरु सक्कली प्रमाण आफूसँगै राख्ने गरेको विवरण पनि उजुरीमा उल्लेख छ ।

    स्याल्पा गुम्बा चालू अवस्थामा रहे पनि होटलका नाममा दर्ता गरिएको तेन्जिङ एण्ड तेन्जिङ हस्पिटालिटी नामको होटल संचालनमै छैन । जबकि त्यो होटलको नाममा रिम्पोछेले ३० रोपनी जग्गा किनेर आफन्तको नाममा नामसारी गरेको उजुरीमा उल्लेख छ । त्यो होटलमा १ अर्ब ५० करोड लगानी गरेको विभागको अनुसन्धानका क्रममा त्यतिबेलै खुलेको थियो ।

    संचालनमै नरहेको उक्त होटलमा त्यत्रो रकम कसरी लगानी भयो ? यसको बारेमा विभागले किन छानबिन गरेन ? यसबाट पनि उक्त उजुरीमा प्रेम भट्टराईले ठूलो चलखेल गरेको पुष्टि हुन्छ । रिम्पोछे अमेरिकी नागरिक हुन्, उनी अमेरिकाको पासपोर्ट प्रयोग गरी शंकास्पद लगनी भित्र्याएर ब्यापार ब्यवसाय गर्दैआएका छन् ।

    काठमाडौंमा एक परिवारले २५ रोपनी भन्दा बढी जग्गा राख्न पाउँदैन । २०२१ को भूमिसुधार ऐनले काठमाडौंमा २५ रोपनी भन्दा बढी जग्गा राख्न मिल्दैन । रिम्पोछेले हदबन्दी लाग्ने भएकाले पनि शंकास्पद लगानीबाट खरिद गरिएको जग्गाहरु तिब्बती मूलका ब्यक्तिहरुलाई नेपाली नागरिकता बनाई उनीहरुकै नाममा राखेका छन् ।

    कपनको करिब १० रोपनी जग्गा रिम्पोछेले फिर्ता माग्दा उनीहरुले नदिएका कारण सुरु भएको विवाद अझै टुंगिन सकेको छैन । उईटुप लामाले रिम्पोछेले आफ्नो नाममा कपनको आनीगुम्बामाथि १० रोपनी जग्गा खरिद गरेको, ७ रोपनी आफूले फिर्ता गरेको अनलाइन नेपालसँगको कुराकानीमै स्वीकारेका छन् ।

    जबकि रिम्पोछेसँग सम्पत्ति शुद्धीकरण गर्न अन्य ब्यक्तिको नाममा लुकाएको हो भन्ने अनलाइन नेपालको प्रश्नमा आफूले तेस्रो ब्यक्तिको नाममा सम्पत्ति नराखेको दाबी गरे । शंकास्पद सम्पत्तिको स्रोत र विभागमा परेको उजुरीबारे जानकारी माग्दा रिम्पोछेले भने–‘यो तपाईलाई गलत सूचना आएको हो, यस्तो भ्रममा नपर्नुहोस् ।’

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले तामेलीमा राखिएको भए पनि गम्भीर प्रकृतिका र शुद्धीकरण गरिएको प्रमाणसहितका फाइलहरुमाथि पुनः छानबिन हुने बताए । विभागका महानिर्देशक भट्टराईको यस्तो भनाइले रिम्पोछेजस्ता अरबौंको सम्पत्ति शुद्धीकरण गर्नेहरुमाथि विभागले एक्सन लिन सक्ने देखिन्छ । विभाग स्रोतका अनुसार रिम्पोछेमाथि गोप्यरुपमा अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार