अछाम । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा सार्वजनिक ग¥यो । जसमा देशभरबाट सहभागी चार लाख ६४ हजार सात सय ८५ विद्यार्थी मध्येबाट २ लाख २२ हजार ४७२ जना (४७.८६ प्रतिशत) विद्यार्थी भने उत्तीर्ण भए । बाँकी दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी (५२.१३ प्रतिशत) असफल भए ।
बोर्डले सार्वजनिक गरेको नतिजामा कुल परीक्षार्थीमा आधाभन्दा बढी ननग्रेडमा परेका छन् अर्थात् असफल भएका छन् । बोर्डले यस पटक पास हुन ७५ पूर्णाङ्कको सैद्धान्तिक परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक र २५ पूर्णाङ्कको व्यावहारिक (प्रयोगात्मक) परीक्षामा कम्तीमा ४० प्रतिशत अंक ल्याउनैपर्ने व्यवस्था गरेकाले आधाभन्दा बढी विद्यार्थी ननग्रेड अर्थात् असफल भएको बताइन्छ ।
योसँगै अछाम जिल्लाको नतिजा पनि निराशाजनक आएको छ । अछामबाट एसईईमा सहभागी ४ हजार ७ सय ९९ विद्यार्थी मध्ये १ हजार ४ सय १३ जना उत्तिर्ण भएका छन् । सार्वजनिक नतिजामा जिल्लामा सहभागी कुल विद्यार्थीको २८.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
यता अछामको चौरपाटी गाउँपालिकामा पनि एसईई नतिजा कमजोर आएको छ । गाउँपालिकाको शिक्षा शाखाका अनुसार पालिकाभित्रका सबै माध्यमिक विद्यालयबाट पूर्ण नतिजाको विवरण आइसकेको छैन । तर शाखालाई प्राप्त विवरण अनुसार वडा नम्बर ३ मा रहेको गगुडा माध्यमिक विद्यालय निल भएको छ ।
त्यहाँबाट एसईईमा सहभागी ९ जना विद्यार्थीमध्ये एक जना पनि पास भएनन् । तर दुई जना भने ग्रेडवृद्धि परीक्षा सहभागी हुन पाउने छन् । स्मरण रहोस् : यो विद्यालय परीक्षाका बेला विवादित समेत बनेको थियो । यो विद्यालय राजनीति गर्ने थलो बनेको समेत आरोप लाग्दै आएको छ ।
यस्तै वडा नम्बर १ स्थित सिउँडी माध्यमिक विद्यालय भने निल हुनबाट बचेको छ । त्यहाँ परीक्षामा सहभागी एक जना विद्यार्थी २.७२ जिपिए ल्याएर पास भए भने १३ जना ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । यो विद्यालय पालिकाको केन्द्रमै छ । सबैको ध्यान तान्न यो विद्यालय सफल छ ।
तर यहाँ पनि राजनीतिक चलखेल हुने गरेको आरोप छ । सोही कारण यो विद्यालयमा पढाइको गुणस्तर खस्किँदै गएको आरोप लाग्ने गरेको छ । यसैगरी वडा नम्बर ४ स्थित बैजनाथ माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी भएका ५९ जनामध्ये ९ जना उत्तिर्ण भएका छन् भने ३२ जना ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् ।
यस्तै वडा नम्बर ६ स्थित देवीमान्डौँ माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी ४८ विद्यार्थीमध्ये १० जना पास भएका छन् भने १४ जना ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । यसैगरी वडा नम्बर २ स्थित दशपल्लेपानी माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी ६७ विद्यार्थीमध्ये ८ जना पास भएका छन् भने १९ जना ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् ।
यस्तै वडा नम्बर ५ स्थित दयापिपलतोला माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी मध्येबाट ८ जना पास भएका छन् भने १० जना ग्रेडवृद्धि परीक्षामा सहभागी हुनेछन् । यसैगरी वडा नम्बर ७ स्थित शान्ति माध्यमिक विद्यालयबाट १८ जना विद्यार्थी उत्तिर्ण भएका छन् भने २१ जना ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् ।
Leave a Reply