Online Nepal
  • बुधबार, ३० असोज २०८१
  • सिरोहिया केसमा सरकारी दावीले नै उनलाई निर्दोष साबित गर्छ

    सिरोहिया केसमा सरकारी दावीले नै उनलाई निर्दोष साबित गर्छ

    राधाकृष्ण देउजा
  • बिहिबार, १० जेष्ठ २०८१
  • 3K
    SHARES

    नेपालको प्रतिष्ठित कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहिया यति बेला नागरिकता विवादमा थुनामा छन् । सुरुमै यत्ति जरुर भनौँ कि मुद्दा परेको नभई मुद्दा हाल्न लगाएर जुन हिसाबले कैलाश सिरोहियालाइ गिरफ्तार गरियो त्यो कानुनी शासन सहितको लोकतन्त्र नेपाल सुहाउने कदम थिंदै थिएन र हुँदै हैन भन्ने आम ठहर नै सही हो भन्ने मान्छु म ।

    यद्यपि कान्तिपुर मिडियामा सहकारी ठगी सम्बन्धमा तथ्यमा टेकेर आएका समाचारको कारणले झुठमा आधारित आफ्नो व्यक्तित्व र सफलता दुवैमा एक साथ कम्पन आएको महसुस गर्दै वर्तमान गृहमन्त्रीले प्रतिशोध साँधेर गिरफ्तार गरेको परिणामस्वरूप आज कैलाश सिरोहिया थुनामा छन् ।



    त्यसैले चर्चा गरौँ के सरकारी निकाय अर्थात् प्रहरीले उनलाई पक्राउ गर्नको कारण भनेर सार्वजनिक गरेको कारणहरूमा दम छ त ? के त्यसमा उल्लेखित कुराहरू हेर्दा कैलाश सिरोहिया थुनिनु पर्ने देखिन्छ त ? त्यस सम्बन्धमा निम्न कुराहरू महत्वपूर्ण छन् जस्तो लाग्छ :



    १. सिरोहिया पक्राउ सम्बन्धमा प्रहरी निरीक्षक नवराज खड्काको दस्तखत सहित प्रहरीले भनेको पहिलो कारण छ कि कैलाश सिरोहियाको नागरिकता नम्बर भएको नागरिकता अरू कसैको नाममा पहिला नै जारी भइसकेको थियो । त्यो दाबी सही नै होला ।

    तर के आफूलाई दिइएको नागरिकता नम्बर भएको अर्को नागरिकता छ वा छैन भनेर कैलाश सिरोहियाले खोज्नु पर्ने हो ? यस्तै गरेर अरू नेपालीहरूले पनि आफ्नो नागरिकता नम्बरको अर्को नागरिकता छ छैन भनेर खोज्नु पर्ने हो ? हो भने कसरी ? त्यसैले प्रहरीले पेस गरेको कारण नम्बर एकले सिरोहियालाइ हैन हाम्रो सरकारी अभिलेखीकरणलाई कसुरदार ठहर गर्नु पर्छ र अभिलेख नहेरी एकै नम्बरका दुई नागरिकता दिने सरकारी अधिकारीहरू कारबाहीको भागीदार हुन्छन् ।

    २. प्रहरीले सार्वजनिक गरेको कारण नम्बर दुई त झन् कारण मान्न समेत लायक छैन किन कि त्यसमा भनिए अनुसार कैलाश सिरोहियाका बुवा घासीराम सिरोहियाका तिन सन्तान अंगिकृत नागरिक रहेको र कैलाश सिरोहिया चाहिँ जन्मसिद्ध नेपाली नागरिकको रूपमा रेकर्डमा देखिएको ।

    अझै अचम्म त त्यहाँ लेखिएको छ कि नाम प्रष्ट नभएको कैलाश प्रसाद सिरोहिया ? नाम प्रष्ट नभएको भन्ने हो भने अस्पष्टमा के छ त ? अनि प्रष्ट नरहेको कसरी कैलाश प्रसाद सिरोहिया ? यो त आफैँमा भद्दा मजाक भइहाल्ने भयो ।

    ३. प्रहरीले सार्वजनिक गरेको तेस्रो कारणमा भनिएको छ कि कैलाश सिरोहियाले २०५७ सालमा निकालेको प्रतिलिपिको रेकर्ड रहेको ढड्डामा फोटो सहितको अभिलेखमा अधिकार प्राप्त अधिकारीको दस्तखत नरहेको । अनि के कुनै सरकारी कर्मचारीले आफ्नो कार्यालयको ढड्डामा गर्नु पर्ने सही गरेन भने सेवाग्राहीले त्यसको सजाएँ भोग्नु पर्ने ?

    अनि गणतन्त्र आइसकेको वर्तमानमा त हाम्रो सरकारी कार्यालयहरूमा जनताले सहज भित्र छिर्न पाउँदैनन् अनि कसरी त्यस बेला कैलाश वा जोकोही आम मानिसले खै खै ढड्डामा सही गरेकी गरेनन् हाकिमले भनेर हेर्न माग्नु ? त्यति बेलाको मात्रै के कुरा अहिले नै पनि नागरिकता वा त्यसको प्रतिलिपि लिने कोही कसैले आफूले पाएको नागरिकताको रेकर्ड राख्ने ढड्डा कस्तो हुन्छ भन्ने देखेको हुन्छ ?

    देख्न पाउँछ ? हो अनि नागरिकको पहुँच नै नभएको सरकारी ढड्डा त्रुटिपूर्ण देखिए ढड्डा कायम गर्नेलाई कारबाही गर्ने कि सेवाग्राही नागरिकलाई ? भन्ने सवालले प्रहरीले सार्वजनिक गरेको पक्राउको कारणलाई गलत प्रमाणित गर्छ ।

    ४. अनि प्रहरीले सार्वजनिक गरेको अर्को कारणमा भनिएको छ कि नागरिकताको प्रतिलिपिको जन्ममिति महलमा अठार वर्ष र कोष्टमा जन्ममिति २०१९र०८र२१ समेत लेखेको पाइएको र जन्म मितिमा उल्लेखित आकृति र उक्त प्रतिलिपिमा उल्लेख भएको उमेर र अन्य अंकहरुको आकृति सँग मेल नखाएको र पछि कोष्टमा जन्म मिति थप गरी कृते गरेको पाइएको ।

    यसमा पनि कैलाश वा यस्तो केसमा अन्य कोहीले पनि थुनिनु हुन्न कमसेकम त्यति बेलासम्म जति बेलासम्म त्यस नागरिकता वा प्रतिलिपि जारी गर्ने सरकारी कर्मचारी पक्राउ परेर उनीहरू सहित संलग्न रहेर किर्ते भएको र त्यसो गर्न नागरिकतावालाले उनीहरूलाई लोभ लालच प्रलोभन वा धम्की दिएको सावित बयान दर्ज भएको अवस्था रहन्न । त्यसैले प्रहरीको त्यो दाबी पनि टाई टाई फिस हो ।

    ५. प्रहरीको कारण नम्बर ५ मा चाहिँ फेरी माथिको आफ्नै दाबी अर्थात् यस्तो यस्तो कारणले किर्ते भनेर भनिएको कुराको उल्लेख नगरी आफैँले किर्ते मानेको कुरालाई आधार बनाइ जन्ममिति हिसाब गरेर नागरिकता पाउँदा कैलाश सिरोहिया १६ वर्ष ८ महिना मात्रै पुगेको देखिएको भन्दै उनले नागरिकता प्रमाणपत्र पाउँदा उनी अठार वर्ष नपुगेको देखिएको भनिएको छ ।

    अव फेरी पनि सवाल उठ्छ कि उमेर नपुगेको व्यक्तिलाई हिसाब नगरी नागरिकता दिनेको गल्ती पहिलो हुन्छ कि हुन्न ? हुन्छ भने पहिला त्यसरी उमेर नपुगेको व्यक्तिलाई नागरिकता दिने कर्मचारी वा कर्मचारीहरू कैलाश सिरोहिया भन्दा पक्राउ पर्नु पर्छ कि पर्दैन रु अवश्य पर्थ्यो । अनि यसैमा अर्को एउटा आशङ्का गरेर छानविन अर्को हिसाबले गर्नु पर्ने पनि हुन्थ्यो प्रहरीले कि कतै यो सबमा कैलाश सिरोहियालाइ नै फसाउन गरिएको त छैन ?

    नत्र किन उनको सुरु जन्म मितिमा उमेर १८ मात्रै भएकोमा प्रतिलिपिमा उमेर खुलाइयो ? अनि प्रहरीकै भनाइ मान्ने हो भने आकृति फरक देखियो र ढड्डामा सरकारी अधिकारीको दस्तखत पनि छैन । यति हुँदा किन प्रहरीले कैलाश कतै षड्यन्त्रको निसानामा परेका थिए कि ? उनलाई फसाउने योजना अनुसार यो काम भयो कि ?

    भनेर किन नसोचेको ? किन प्रहरीले पूर्वाग्रही भएर सुरुमै कैलाश दोषी हुन भन्ने निष्कर्ष निकालेको ? किन यस प्रकरणमा कैलाश सिरोहिया आफैँ पनि नियोजित रूपमा फसाइएको हुनसक्ने सम्भावनालाई पुरै बेवास्ता गरेको ? यो गम्भीर सवाल त प्रहरी प्रति पनि उठेको छ नि ।

    ६. झन् प्रहरीको कारण नम्बर ६ मा भनिएको कैलाश सिरोहियाले नागरिकता लिँदा पेस गर्नुपर्ने कागजपत्रहरूको अभिलेख फेला नपरेको भन्ने कुराले त झन् कैलाश आफैँ नियोजित षड्यन्त्रको सिकार भएको हो कि भन्ने आशङ्कालाई नै बल दिन्छ । नत्र कसरी नागरिकता पाउँदा बुझाएको हुनुपर्ने कागज भेटिन्न ?

    त्यो सुरुमै बुझाइएको थिएन भने फेरी पनि सवाल उठ्छ कि कागजपत्र नै नबुझाई उनलाई नागरिकता दिने तत्कालीन कर्मचारीहरूलाई किन दोषी ठहर नगरेको ? किन कैलाश भन्दा पहिला उनीहरूलाई नसमातेको ? र यदि उनले कागजपत्र बुझाएको तर कोही कसैले त्यसलाई गायब गरेको हो भने त त्यसको जबाफदेही त जिल्ला प्रशासन कार्यालय र त्यसको तालुकवाल गृह मन्त्रालय पो हुनु पर्ने हैन ?

    तसर्थ यदि सरकारी दाबी नै मान्ने हो भने पनि कैलाश सिरोहिया थुनिनु पर्ने कारण छैन । कमसेकम पनि उनको नागरिकताका सम्बन्धमा सरकारी कार्यालयको कमजोरीहरूमा सबभन्दा पहिला कर्मचारी पक्राउ नपरी कैलाश सिरोहिया पक्राउ पर्ने किमार्थ वाञ्छनीय मान्न सकिन्न ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार