Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • रमेश सिंहको अफिसबाटै हुन्छ सतर्कताको काम, किन गइरहन्छन् रामआधार साह ?

    रमेश सिंहको अफिसबाटै हुन्छ सतर्कताको काम, किन गइरहन्छन् रामआधार साह ?

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 4.6K
    SHARES

    काठमाडौं । सार्वजनिक निकायहरुबाट हुने अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने, सरकारी कार्यालयबाट प्रदान हुने सेवा प्रबाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव निर्देशन दिने उद्देश्यले गठित राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख प्रहरीको हिरासतमा समेत बसिसकेका र विवादास्पद सचिव रामआधार साह छन् ।

    सरकारी सेवामा प्रवेश गरेदेखि नै जसरी हुन्छ भ्रष्टाचार मात्र गर्ने उद्देश्य राखेका सचिव साहलाई राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख बनाएपछि उनलाई त्यस्तै प्रबृत्तिका पूर्वसचिव रमेशप्रसाद सिंहले दुरुपयोग गर्दैआएको खुलेको छ ।



    पूर्वसचिव रमेशप्रसाद सिंहले बानेश्वर देवीनगर, ढुंगेधारा मार्गमा सिंगै घर भाडामा लिएर एक दलाली कार्यालय सञ्चालन गर्दै आएका छन् । जुन कार्यालयमा सतर्कता केन्द्रका सचिव रामआधार साह दिनमा एकपटक पुग्ने गरेको प्रमाण समेत फेला परेको छ । सहरी बिकास मन्त्रालयका पूर्वसचिव समेत रहेका रमेश सिंहले पछिल्ला दिनमा सहरी बिकास तथा भवन विभाग, खानेपानी मन्त्रालयसहितका निकायका आयोजना प्रमुखदेखि सचिवसम्मलाई बोलाउने, बार्गेनिङ गर्ने र परामर्श वा ठेक्का नदिए रामआधार साहलाई बोलाएर उजुरी दिई पत्र काट्ने, छानबिन समिति बनाउन लगाउने जस्ता काम गरिरहेका छन् ।



    शुक्रबार अपराह्न ५.१५ बजे अनलाइन नेपालका प्रतिनिधि देवीनगरस्थित रमेश सिंहको उक्त दलाली अफिसमा पुग्दा सतर्कता केन्द्रका प्रमुख रामआधार साह बीएए ६७७७ नम्बरको गाडी आफैं चलाएर ढोकाबाट निस्किरहेका थिए । सचिव साह उक्त दलाली कार्यालयबाट निस्कदै गरेको तस्वीरसमेत अनलाइन नेपालले लिन सफल भएको छ ।

    सहरी विकास मन्त्रालयबाट अवकाश पाएका पूर्वसचिव रमेश सिंहले रामआधारलाई सहरीका आयोजनादेखि सचिवसम्मका एक एक बिषयमा पत्र काट्ने, विवरण माग्न लगाउने त गरेकै छन्, खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यलाई सामान्य बिषयमा पनि पत्र काटेर हैरानी दिएको स्रोत बताउँछ ।

    रामआधारले ठेक्कापट्टा र परामर्शका सेटिङमा कुरा नमिलेपछि मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी ल्याउन रोके । र, खानेपानी मातहतका कार्यालय तथा आयोजना प्रमुखसँग ठूलो रकम माग्ने गरेपछि प्रधानमन्त्री कार्यालयमै डेलिगेसन पुग्यो । त्यसपछि खानेपानी मन्त्रालयको सचिवबाट उनलाई सतर्कतामा सरुवा गरियो । सुरेश आचार्य खानेपानी मन्त्रालयमा आए ।

    आचार्यले आउनासाथ प्रधानमन्त्रीको निर्देशनमा मेलम्चीको काम द्रुतगतिमा अगाडि बढाए । आफूलाई सरुवा गरिएपछि रामआधारले सुरेश आचार्यका बिरुद्ध सतर्कतामा विदेशमा गएको लगायतका बिषयमा पत्र काटेर आतंक सृजना गरेको आरोप छ । सुरेश आचार्यको सामान्य त्रुटि भए पनि रामआधारले नियतबस पत्र काटेर मिडिया बोलाउँदै समाचार लेखेर परपीडामा रमाउँदैआएको पनि स्रोत बताउँछ ।

    दलाली अफिसमा सेटिङ गर्ने, उजुरी बनाउनेदेखि पत्रको ब्यहोरा तयारी गर्ने
    देवीनगरस्थित दलाली कार्यालयमा पूर्वसचिव रमेश सिंहले विभिन्न विकासे अड्डाका ठेक्काको सेटिङ गर्ने, सेटिङमा सहयोग नगर्नेको उजुरी बनाउने र सतर्कताका प्रमुख रामआधारलाई बोलाएर उक्त उजुरी दिई पत्र काट्ने, छानबिन समिति गठन गर्न लगाउने जस्ता काम गर्ने गरेका छन् । त्यसको ज्वलन्त उदाहरण हो, सहरी विकास मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभाग(डोली)को आरसीयुआईपी परियोजनाको १ अर्ब बराबरको परामर्शदाता नियुक्तिको बजेट ।

    रमेश सिंह सचिव हुँदा नै परामर्शदाता छनोटको उक्त बजेटमा आँखा लगाएका थिए । उनले त्यो बजेट आफूले सेटिङ गरेको कम्पनीलाई दिनेगरी भरत अर्याललाई डोलीको महानिर्देशक बनाएका थिए । सीता गुरुङ मन्त्री भएपछि अर्याललाई हटाएर इश्वरचन्द्र मरहट्ठालाई डोलीको महानिर्देशक बनाइन् ।

    मरहट्ठा आएपछि परामर्शदाता छनोटको प्रक्रियामा एउटा ८० करोड र अर्को ४६ करोडको प्रस्ताव परेको छ । ८० करोडको कम्पनीलाई ठेक्का दिलाउन रमेश सिंह लागेका छन् । तर, मरहट्ठा एकपटक अख्तियारको मुद्दा ब्यहोरिसकेकाले ३४ करोड बढी कबोल गरेको कम्पनीलाई परामर्शदाता नियुक्ति गरेर पुनः अख्तियारमा धाउन तयार छैनन् ।

    रमेश सिंहको सेटिङको ८० करोडको कम्पनीलाई ठेक्का नदिएपछि सतर्कता केन्द्रमार्फत् अनेक तरहले तर्साएर डोलीको महानिर्देशकमा ३ महिनामात्र जागिर अवधि बाँकी भएका भरत अर्याललाई पुनःः ल्याउने खेलमा उनी लागेका छन् । २०८१ भदौ ८ मा अवकाश हुने भरत अर्याललाई महानिर्देशक बनाउने र परामर्शदाताको ठेक्का ८० करोड कबोल गरेको कम्पनीलाई दिनका लागि नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई १० करोड नै बुझाउने प्रस्ताव समेत रमेश सिंहले पुर्याइसकेको स्रोतको दावी छ । ३४ करोड फरक दररेट पेश गर्ने कम्पनीलाई ठेक्का दिलाउन उनले नेता पाण्डेलाई त्यो अफर गरेको स्रोत बताउँछ ।

    रमेश सिंहले सहरीका यस्ता अरबौंका आयोजनामा सेटिङ गर्नका लागि सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाललाई नै हटाएर तिनै विवदित रामआधारलाई लानका लागि ग्रान्ड डिजाइन पनि तयार गरिरहेको बताइन्छ ।

    देवीनगरबाटै सिंहले चलाउँछन् विभाग र कार्यालयहरु
    देवीनगरस्थित सेटिङ अफिसबाटै रमेश सिंहले भवन बिभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता बिकास समिति, स्थानीय पूर्वाधार विभाग(डोली) चलाउने गरेका छन् । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक कुमारप्रसाद घिमिरे नै रमेश सिंहबाट आजित भएका छन् । उनले आफ्ना निकटस्थहरुसँग ‘देवीनगरमा बसेर रमेश सिंहले विभाग चलाउँछन्, मैले केही गर्न सक्दिनँ’ भनेर निरीहता प्रकट गर्ने गरेका छन् ।

    सिंहको दलाली कार्यालयमा सहसचिव रविन्द्र बोहरा, काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानका ढकाल, सहआयुक्त नवराज प्याकुरेल, भवन विभागका प्राविधिक उपसचिवहरु शिखर लामा र निलम डंगोल प्रायः सधैं उपस्थित हुने गरेको सहरी विकासका एक कर्मचारी बताउँछन् ।

    बोहरा सहरी विकास मन्त्रालयमा १३ औं नम्बरका कनिष्ट सहसचिव भए पनि दुई दुई वटा जिम्मेवारी लिएर बसेका छन् । सिनियर सहसचिव चक्रवर्ती कन्ठलाई केही महिनामै हटाएर रमेश सिंहकै डिजाइनमा सोमप्रसाद पाण्डेको दबाबमा सहरी विकास मन्त्री धनबहादुर बुढाले बोहरालाई अधिकार सम्पन्न बागमतीमा पठाएका थिए ।

    बोहरा अति बिशिष्ट पदाधिकारी र मन्त्रीहरुको लागि भवनदेखि सबै ब्यवस्थापन गर्ने संघीय सचिवालय निर्माण तथा ब्यवस्थापन कार्यालयका पनि प्रमुख हुन् । कनिष्ट सहसचिवलाई आकर्षक मानिने २ वटा जिम्मेवारी दिएर सिनियर सहसचिव कन्ठलाई अपमान गरिएको छ ।

    अख्तियारमा आयुक्त हुन्छु भन्दै तर्साउँदै
    पूर्वसचिव सिंहले देवीनगरमा खोलेको सेटिङ अफिसमा सरकारका विकासे अड्डाका प्रमुखलाई बोलाउने र परामर्शदाता वा ठेक्काको काम आफूले भनेका कम्पनीलाई दिन दबाब दिने गर्दछन् ।

    ऐन कानुन बिपरीत दिन नमिल्ने जवाफ दिने आयोजना र कार्यालयका प्रमुखलाई ‘अख्तियार सहितका संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट खारेज हुँदैछ, अख्तियारको प्रमुख आयुक्त, नभए आयुक्त बन्दैछु’ भनेर उनले मनोबैज्ञानिक रुपमा तर्साउने जस्ता कार्य पनि गर्ने गरेको उनको देबीनगर सेटिङ अफिसमा गएर फर्किएका एक इन्जीनीयरले नाम नबताउने सर्तमा अनलाइन नेपाललाई बताए ।

    सहरी विकास मन्त्रालय अन्तर्गत इन्जीनीयरमा सेवा प्रवेश गरेदेखि नै कसरी हुन्छ भ्रष्टाचार मात्र गर्न जानेका सिंहले अकूत सम्पत्ति यति थुपारेका छन् कि उनले धेरै सम्पत्ति अख्तियारको आँखा छल्न अर्कैको नाममा लुकाएका छन् ।

    स्रोतका अनुसार बिजुलीबजारको घर उनले जानुका ढकालको नाममा राखेका छन् भने काठमाडौंकै अर्को घर नाताभित्रका इन्जीनीयर सुनिल सिंहको नाममा राखेका छन् । सुनिल सिंहलाई उनले सहरी विकास मन्त्रालयको सचिव हुँदा संसद भवनको कन्सलटेन्टमा राखेका थिए । तिनै सुनिल सिंह प्रूयोग गरी उनले ठेकेदार तुँडी कन्ष्ट्रक्सनसँग अहिले पनि अप्ठेरोमा पार्ने र असुल्ने गरिरहेको आरोप छ ।

    सतर्कता केन्द्रका प्रमुख सचिव रामआधार साहसँग प्रतिक्रियाका लागि सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउनै चाहेनन् । पटक–पटक फोन काटेर पछि सम्पर्कमा आएका साहले सुरुमा देवीनगरस्थित रमेश सिंहको सेटिङ अफिसमा दैनिक जाने गरेको कुरा अस्वीकार गरे । शुक्रबार ५ः३० मा उक्त सेटिङ अफिसबाट निक्लदै गरेको फोटो नै हामीले कैद गरेका छौं भन्ने प्रश्नमा उनले निर्लज्ज रुपमा उसोभए समाचार प्रकाशित गर्नुस् भन्दै फोन काटे । सिंहसँग प्रतिक्रियाका लागि पटक–पटक फोन गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार