काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजिल्याण्डले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा न्युजिल्याण्डले अफगानिस्तानलाई १४९ रनले पराजित गरेको हो ।
न्युजिल्याण्डले प्रस्तुत गरेको २८९ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले ३४.४ ओभरमा मात्र १ सय ३९ बनाउन सक्यो । अफगानिस्तानका लागि रहमात शाहले सर्वाधिक ३६ रन बनाए भने अजमतुल्लाह ओमाजारीले २७ रनको योगदान दिए ।
यसअघि ग्लेन फिलिप्सको ७१ रनको मद्दतले न्युजिल्याण्डले निर्धातिर ५० ओभरमा ६ विकेटको क्षतिमा २८८ रन बनाएको थियो । फिलिप्सलाई कप्तान टम ल्याथमले ६८ रन बनाउँदै साथ दिए ।
ओपनर विल यङले ५४ रन बनाए भने मार्क च्यापम्यानले नटआउट रहँदै २५ रन बनाए । जितसँगै चार खेलबाट ८ अङ्कका साथ न्युजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलमा एक मात्र खेल जितेको अफगानिस्तान नवौँ स्थानमा रहेको छ ।
Leave a Reply