काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले गौर हत्याकाण्डबारे केही गर्न नसकेको भन्दै दुख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै भट्टराईले चाहेर पनि गौर हत्याकाण्डबारे केही गर्न नसकेको बताएका हुन् ।
भट्टराईले लेखेका छन्,‘गौर हत्याकाण्डको आन्तरिक र बाहृय जरो नखोतलीकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलकारीहरूलाई पटकपटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न । शान्ति प्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे (गौर हत्याकाण्डबारे) केही गर्न नसकेकोमा आत्मालोचित छौं ।’
गौर हत्याकाण्ड राज्यविरूद्धको विद्रोहको क्रममा घटेको घटना नभएको पनि उनले बताए । सरकारले १७ वर्षअघि भएको उक्त हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति गरे पनि त्यसको कार्यान्वयनमा हुनेमा उनको आशंका छ ।
बुधबार सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच २७ जनाको ज्यान जाने गरी १७ वर्षअघि भएको हत्याकाण्डको अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने सहमति भएको छ । यसको जवाफ भविष्यले बताउने पनि उनले उल्लेख गरेका छन् ।
Leave a Reply