काठमाडौं । आफूहरूलाई खतरा भएको भन्दै ललितपुर जिल्ला अदालतका कर्मचारी कार्यालय छाडेर सर्वोच्च अदालत पुगेका छन् ।
काम गर्ने वातावरण नभएको र वकिलबाट असुरक्षा बढेको भन्दै जिल्ला अदालत ललितपुरका कर्मचारी सर्वोच्च पुगेका हुन् ।
जिल्ला अदालतमा कर्मचारी प्रशासनको नेतृत्व गर्ने उपसचिव सरहका श्रेस्तेदार विष्णु पाण्डेयसहित सबै कर्मचारी सुरक्षा माग गर्दै सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरको कार्यकक्षमा पुगेका छन् ।
असार १८ गते नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिकै आयोजनामा ललितपुर जिल्ला अदालत बाहिर आमसभा गरी कर्मचारीको मानमर्दन हुने गरी अभिव्यक्ति दिइएको र बारले आफ्नो क्षेत्राधिकार र सीमा मिचेर कुनै अमुक कर्मचारीलाई यहाँ सरुवा गर भन्नु कानुन विपरीतको कार्य भएको भन्दै आपत्ति जनाएको छ ।
ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डे लगायतको समूह यति बेला सर्वोच्च अदालतमा पुगेको छ । कर्मचारीहरू कामकाज छाडेर सर्वोच्च अदालत पुगेपछि सर्वोच्च अदालत प्रशासनले कर्मचारीसँग छलफल गरी काममा फर्किन आग्रह गरेको छ ।
यद्यपि कर्मचारीहरूले भने आफूहरूको जिउधनको सुरक्षाको ग्यारेन्टी नभएसम्म काममा नफर्कने चेतावनी दिएका छन् । नेपाल बारले नासु प्रेमिका तामाङले अदालतको आदेशको कपी माग्दा अधिवक्ता अमिर लामिछानेसँग घुस मागेको आरोप लगाउँदै उनीसहित श्रेष्तेदारको सरुवा माग गरेको छ ।
Leave a Reply