काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिनदिनै जस्तो संवाद भइरहेको छ ।
दाहालसहित नेकपाका शिर्ष नेताहरुले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न दबाब दिएपछि संकटमा परेका ओली अझै पनि विभिन्न फण्ड झिकेर पद जोगाउनमै तल्लिन छन् ।
तर, बाहिरी जिल्लाहरुमा भने दुई पक्षधरबीच झडप शुरु भइसकेको छ ।
कैलालीको लम्कीमा ओली पक्षधर र दाहाल पक्षधरबीच झडप भएको हो । आज(सोमबार) दिउँसो लम्कीचोकमा प्रधानमन्त्री पदको बचाउ गर्दै र्यालीसहित कोणसभा गरिरहेको समयमा प्रचण्ड पक्षधरहरू एकएक आएर आक्रमण गरेपछि स्थिति तनावग्रस्त भएको हो ।
सचेत नागरिक समाज लम्की, कैलाली नामक संस्थाको ब्यानरमा ओलीको फोटोसहित नेपालको नयाँ नक्सा राखेर २ दर्जन बढी युवाको सहभागितामा लम्की चौराहामा प्रदर्शनसमेत गरेका थिए ।
ओली पक्षनिकटका नेता नरबहादुर खड्काले ओलीको बचाउ गर्दै दुईतिहाइको सरकारलाई आफ्नै साथीहरूले ढलाउन खोजेको भन्दै आक्रोश पोखिरहेका बेला प्रचण्डनिकटका केही युवाहरू खड्कामाथि खनिएको ओली पक्षधरको आरोप छ ।
यद्यपी प्रहरीले अवस्थालाई नियन्त्रण लिएकाले कुनै अप्रिय घटना भने हुन पाएन । पछिल्लो समयमा नेकपाभित्र विवाद चुलिँदा पार्टी फुटको संघारमा पुगेको छ ।
Leave a Reply