काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
जिल्लाको खौलाचौरमा फिल्ड निर्माणका लागि गलत प्रतिवेदन बनाई अस्वभाविक लागत अनुमान र प्राविधिक मूल्याङ्कन तयार गरेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो ।
प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्याय, सब-इन्जिनियर मनोज धामी र सब-इन्जिनियर जगत बहादुर मल्लमाथि निर्माण योजनामा गलत नापी किताब तयार पारेको र नगरेको कामको मूल्याङ्कन गरेको आरोप छ ।
उक्त फिल्ड निर्माण योजनामा गलत नापी किताब तयार गर्ने, नापी किताब चेकजाँच गर्ने, सो नापी किताब स्वीकृत एवं फिल्डमा नभएको नगरेको कामको मूल्याङ्कन गरेको उनीहरूमाथि अख्तियारले आरोप लगाएको छ।
यस क्रममा उपभोक्ता समितिलाई १५ लाख ४४ हजार ९ सय ३० रुपैयाँ रकम भुक्तानी गरेको र उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कसुर ठहरिएको अख्तियारको दाबी छ।
उनीहरू तीनै जनाउपर त्यति नै बिगो र बिगोबमोजिम जरिवाना माग गरिएको छ। यस्तै आयोगले बुधबार वडा नं ६ का तत्कालीन वडा अध्यक्ष मन प्रसाद भट्ट, निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाहीविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
यसैगरी सोरुकोट खौलाचौर फिल्ड निर्माण उपभोक्ता समितिका अध्यक्ष रतन बहादुर शाही, सचिव धर्म बहादुर मल्ल र कोषाध्यक्ष धनदेवी छत्याल (शाही) ले सोरु-६ सोरुकोटस्थित खौलाचौर फिल्ड निर्माण कार्यमा गाउँपालिकासँग गरेको सम्झौताविपरीत कार्य गरेको भन्दै उनीहरूलाई पनि सोही रकम बिगो कामय गरी सजाय माग गरिएको छ।
साथै सोरु-६ का तत्कालीन वडाध्यक्ष मनप्रसाद भट्टले फिल्डमा हुँदै नभएको कार्य सम्पन्न गरेको भन्दै भुक्तानी गरिदिन सिफारिस गरेकाले उनलाई पनि दोषी ठहर गर्दै अख्तियारले सजाय माग गरी आज विशेष अदालतमा मुद्दा दायर गरेको छ।
Leave a Reply