काठमाडौं । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगिता आजदेखि नहुने सम्भावना बढेको छ । ६० प्रतिशत खेलहरू सम्पन्न भइसके पनि खेलाडी तथा अफिसियलले कुनै पारिश्रमिक नपाउँदा मंगलबारबाट हुने खेल अन्यौलमा पुगेको हो ।
आयोजकहरू नै सम्पर्कबाहिर रहेको बताइएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौं र विराटनगरबीच मंगलबार हुन लागेको खेल सुरु हुन सकेको छैन्। खेलाडीहरुले ‘टस’ को पेपर नै लिन नमानेपछि खेल सुरु हुन नसकेको हो ।
विदेशी खेलाडीहरूले यसअघि नै सोमबारसम्मको समयसीमा दिएको र तोकिएको समयमा पनि पारिश्रमिक नआएपछि मंगलबारदेखि खेल नखेल्ने धम्की दिएका थिए । तर, सोमबार साँझबाट आयोजकहरू नै ‘बेपत्ता’ भएपछि प्रतियोगिताका थप खेल नहुने अवस्थामा पुगेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई साझेदार बनाउँदै पटक–पटक सारिएको नेपाल टी–२० लिग मंसिर २८ देखि सुरु भएको थियो ।
Leave a Reply