Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • तारे होटेलको विश्रामलाई कसरी अपहरण भन्ने ? अपहरण ठहर्न रचित सनसनीपूर्ण कथा

    तारे होटेलको विश्रामलाई कसरी अपहरण भन्ने ? अपहरण ठहर्न रचित सनसनीपूर्ण कथा

    राधाकृष्ण देउजा
  • सोमबार, १५ बैशाख २०७७
  • 4.8K
    SHARES

    केही न केही कुराले गरमागरम भइरहने नेपालको राजनीतिक, सामाजिक परिवेश अहिले इतिहासमा कहिल्यै नभएको र भविश्यमा पनि हुनै नसक्ने अनौठो स्वपरिभाषित अपहरणको चर्चाले गरम भइरहेको छ।

    केही दिन अगाडिसम्म ‘संघीय समाजवादी फोरम’नाममा रहेको र अहिले ‘जनता समाजवादी पार्टी नेपाल’ बनेको पार्टीका सांसद डाक्टर सुरेन्द्र यादवको महोत्तरीस्थित निवासबाट सुरू भएर जनकपुर, बर्दिवास, सिन्धुली, धुलिखेल, काठमाडौंको मेरियट होटलहुँदै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईकोमा पुगेर परिभाषित भएको यात्रा अर्थात ‘स्वघोषित अपहरण’ को विषयले समाजका सबै क्षेत्रको ध्यान आकृष्ट भएको छ।



    स्वघोषित नै भए पनि अपहरण भनिएको घटनामा अपहरित भनिएका व्यक्ति संघीय सांसद अनि अपहरणकारीको आरोप लागेकामा दुई जना सत्ता पक्षीय सांसद र एक जना पूर्व आईजीपी हुनुले पनि त्यसको बारेमा अनेकन हिसाबले चर्चा परिचर्चा भइरहेका छन्, जसलाई अन्यथा मान्न सकिन्नँ।



    अझै एउटावहालवाल सांसदको अपहरण भएको भन्दै मुलुकको पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्रीसमेतको लर्को लागेर अपहरणका आरोपी भनिएका दुई जना वहालवाला माननीयज्यूहरू समेतकाविरूद्ध मुद्दा दर्ता गराउन पुगेपछि चर्चा परिचर्चाको आयतन बढ्नु स्वाभाविक नै छ। तर ताजुव त के छ भने अध्यनशील र वौद्धिक मानिएका नेता बाबुराम भट्टराई सहितको जमात मुद्दा दर्ता गराउन पनि त्यस्तो कार्यालयमा जानुभयो। जसको कार्यक्षेत्रको घटनास्थलसँग कुनै आइनो साइनोनै थिएन।

    अनि स्वभाविक रूपमा प्रहरीले घटनास्थल कार्यक्षेत्र पर्ने जिल्लामा गएर जाहेरी दिनुपर्ने प्रक्रिया सम्झाएर बाबुराम सहितको नेतालाई फिर्ता पठायो। त्यसको मतलव प्रहरीले मुद्दा दर्ता नगरेको वा नगर्न खोजेको पक्कै थिएन। मुद्दा दर्ताको सम्वन्धमा असामान्य अवस्थाबाहेक घटनास्थल जहाँ हो, त्यहीँ नजिकैको प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्ने प्रचलन छ। प्रहरीले बाबुराम भट्टराईलाई पनि त्यहीँ सत्य बताइदिएको हो।

    त्यति हुँदाहुँदै पनि बाबुराम भट्टराईले मुद्दा दर्ता गर्न नमिलेकाले फर्कँदै गर्दा प्रहरीको बाध्यता बुझेको छु पनि भन्दै फेरि प्रहरीले मुद्दा दर्ता गरेन भन्ने पारेर त्यसै गर्माएको समाजलाई थप गरम बनाउनुभयो। तर जे जस्तो तर्क गरे पनि राजनीतिक हिसाब किताव गर्दै सहकार्यको सम्भावनालाई मूर्त रूप दिन दुई पार्टीका नेताले गरेको बाटोको सदुपयोगलाई अपहरणको संज्ञा दिँदै बाबुराम भट्टराईले सुरू गर्नुभएको यो राजनीतिक फण्डाले लकडाउनमा थुनिएको नेपाली समाजलाई गफ गर्ने मसला दिने, नेकपाको सरकार र प्रधानमन्त्री केपी ओली विरोधीलाई विरोधको वहाना दिने र नेकपाका दुई सांसद र पूर्व प्रहरी महानिरीक्षकसहितलाई अपमान र वदनामी सामना गराउने काम गर्ने बाहेक अर्को कुनै उपलव्धि हाशिल गर्न सक्नेछैन। त्यसो भन्ने थाहा पाउँदा बाबुराम भट्टराईहरुले ‘अहो! हो भै त हाल्यो, खोजेकै त्यहीँ त हो’ पनि भन्न सक्नुहुनेछ। तर उहाँहरूको राजनीतिक फाइदाको नाममा नकारात्मकताको बढोत्तरी हुँदा समाजले पाउने त केही होइन नि।

    घटनालाई सनसनीपूर्ण बनाउने क्रम पनि बढो रोचक हिसाबले नै चलेको छ। अपहरित भनिएका सांसद सुरेन्द्र यादव बाबुराम भट्टराईजीकोमा पुग्दा नपुग्दै ‘उनी अपहरणमा परेर काठमाडौं आइपुगेको’ भन्दै बाबुराम भट्टराईको स्वकीय सचिवको नाममा प्रकाशित ट्वीट पश्चात पनि अपहरित भनिएका सांसद स्वयमले ‘आफ्नो अपहरण भएको हैन’ भन्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए। यसरी सुरू भएको यो प्रकरणले मुद्दा दर्ताको अवस्थामा पुग्ने बेलासम्म त्यो वास्तवमा अपहरण थिएन भन्नेको संख्या बढदै गयो। त्यसो हुनुमा आरोपीको प्रतिवादभन्दा ज्यादा आरोप लगाउनेको गतिविधि र उनीहरूले नै गरेको वयानमा देखिएका त्रूटि र घटनाको व्याख्याको दौरान उनीहरूले नै अभिव्यक्त गरेका असंगतिपूर्ण भनाइले सहायक भूमिका निर्वाह गरिरहेका छन् भन्दा गलत हुनेछैन।

    अनि त्यति मात्रै नभएर यस प्रकरणको किनारा लाग्ने बेलासम्म बाबुराम भट्टराईलाई एक वौद्धिक, शालीन र जिम्मेवार ठान्नेको पङ्क्तिले उहाँलाई उहाँका विरोधीले भन्ने गरको जस्तै अस्थिर, अविवेकी र अदुरदर्शीरहेको निष्कर्ष निकाल्न सक्ने देखिएको छ।

    लोकतान्त्रिक व्यवस्थाको मेरूदण्ड हुन्छ कानुनी शासन र कानुनी शासन भन्नाले कानुनले वर्जित गरेको काम भए गरेको पाइएमा कोही कसैलाई छुट नमिल्ने कुराको ग्यारेण्टीलाई बुझाउँछ।

    अनि जहाँ जहाँ साँचो अर्थमा कानुनी शासन यथार्थमा रहेको हुन्छ त्यहाँ न प्रहरीलाई आफ्नो काम गर भनेर भन्नुपर्छ न त कानुनले दिएको काम गर्दै गर्दा प्रहरीले यो किन गरिस भनेर भन्न पाइन्छ । त्यहाँ त कसले गर्‍यो भन्दा पनि के गरियो र कसरि गरियो भनेर हेरिन्छ। र भए गरेका कामहरू कानुनको दृष्टिमा गलत देखिए गर्नेलाई कारबाही हुन्छ। तर दुःखको साथ भन्नुपर्छ हाम्रो मातृभूमि नेपालमा कागजमा संवैधानिक सर्वोच्चता सहितको कानुनी शासन भए पनि व्यवहारमा त्यसो हुन लामो समय कुर्नुपर्ने देखिन्छ।

    नेपाललाई कानुनी शासन यात्रामा पुग्न अवरोध गर्ने काममा बाबुराम भट्टराईजीले सिर्जना गरेर मुद्दा बनाउन खोज्नुभएको यस्ता स्वघोषित अपहरणले पनि थप बल पुर्‍याईरहेका छन् भन्दा अहिले नभए पनि भविष्यमा सही नै भइनेछ।

    हो कसैले अपराध गर्छ भने भएको अपराध अनुसारको सजाय हुनुपर्छ। चाहे त्यो जोसुकै होस्। अहिले पंक्तिकारले स्वघोषित अपहरण भनिरहेको घटना पनि यदि साँचो अर्थमा ‘अपहरण’ हो रहेछ भने त्यसमा प्रत्यक्ष अप्रत्यक्ष संलग्न सबैलाई कानुनी कठघरामा ल्याउनुपर्छ।

    भलै आरोपित कसैको भनाइलाई पनि वास्तै नगरि केवल अपहरित भनिएका सांसदज्यूले बोलेका अभिव्यक्ति र गर्नुभएका व्यवहार अनि घटनाको दौरान भए गरेका भनिएका कुराहरुको अध्ययन गर्ने हो भने यो अपहरणको कथा रोमाञ्चक त छ। तर यथार्थ छैन भन्दा तत्काल गाली खानुपर्ला, भविष्यमा सही विश्लेषणको उपाधि पाइन्छ।

    अतः लेखको थालनीमै सांसद सुरेन्द्र यादवसँग जोडिएको प्रकरणलाई स्वघोषित अपहरण लेखिएकोमा त्यसको केही पृष्ठभूमि र व्यख्या त माथि छ। तर, त्यसलाई त्यही ढंगले बुझ्न घटनासँग जोडिएका निम्न प्रसंगप्रति ध्यान नगईकन हुदैन:

    १. अपहरित भनिएको माननीय स्वयम्‌ले सार्वजनिक मिडियामा ‘मेरो अपहरण भएको त होइन’ भनेर भन्नुभएको छ। त्यो पनि आफ्नो पार्टीको अध्यक्ष र उहाँको पिएले सामाजिक सञ्जालमा घटनालाई अपहरण करार गरिसकेको सत्यताको वावजुद। कथित अपहरणबाट भागेको मान्छेले आफू सुरक्षित भइसकेपछि सार्वजनिक सञ्चार माध्यमलाई अपहरण भएको होइन भनेर किन भन्छ?

    २. अपहरित भएको भनिएका सांसद सुरेन्द्र यादवले सार्वजनिक रूपमा पटक पटक भन्नुभएको छ कि, उहाँले नेकपाका सांसदहरू आफूलाई लिन आएको, संकटमा परेको कुरा जसोतसो गरेर बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जानकारी दिनुभएको थियो रे। यदि त्यसो हो भने बाबुराम भट्टराई र उपेन्द्र यादवहरू सूचना लुकाएर किन बसे? किन आफ्नो सांसद अपहरण भएको भनेर नेपाल प्रहरीलाई खवर नगरेको? किन र केको निम्ति पर्खेको? उहाँहरूले तत्काल प्रहरीलाई खबर गरेको भए अहिले आएर टेकुमा मुद्दा दर्ता गराउन जाने कष्ट गर्नुपर्थ्यो?

    ३. त्यति मात्रै होइन अपहरित भनिएका सांसदले यो पनि भन्नुभएको छ कि, उहाँले महोत्तरीहुँदै बाबुराम भट्टराईलाई आफू संकटमा छु भनेर खबर गर्नुको अलावा अपहरित भएर धुलिखेल पुगेर अपहरणका आरोपीसँग मजाले मिठो खाना खाँदै गर्दा उपेन्द्र यादवलाई सम्पर्क गरेर पनि आफू संकटमा रहेको जानकारी गराउनुभएको थियो रे। त्यति हुँदा पनि अपहरणमा परेको आफ्नो सांसद बचाउन किन केही काम नगरेको? के यथार्थमै उनको अपहरण भएको थियो र यदि अपहरणकारीले उनको हत्या गरेको भए बाबुराम भट्टराई र उपेन्द्र यादवले उनको मृत्यु आफूले सूचना लुकाएकोले भएको स्वीकार गर्नुहुन्थ्यो?

    . अपहरित भनिएका सुरेन्द्र यादवले आफूलाई संकट भएको भनेर नेतृत्वलाई खबर गरेको त भनेका छन्। तर नेतृत्वले उनलाई संकट परेको थाहा पाउँदा पाउँदै आफ्नो तर्फबाट फोन समेत गरेको बुझिदैन, त्यति मात्रै नभएर उनी अपहरित अवस्थामा पाँच तारे होटलमा आराम गरेर निस्किएपछि बाबुराम भट्टराईकोमा जाने साधन बोलाउने कामसमेत आफैंले फोन गरेर गर्नुपरेको, नेताहरूले कुनै वास्ता नगरेको उनको भनाइले स्पष्ट पार्छ।

    के तपाईँ हामीमध्ये कसैलाई आफ्नो साथीले आफू संकटमा छु भनेर फोन गर्‍यो भने अब फेरि उसको फोन कहिले आउला भनेर कुर्छौँ कि हामी तत्कालै खोजी गर्छौं? जरूर खोजी गरिन्छ, अनि बाबुराम भट्टराईहरू चाहीँ सुरेन्द्र यादवको खोजी र उद्दारमा किन नलागेको? अनि अहिले चाहीँ किन सुरेन्द्रप्रति प्रेम? त्यसबेला किन वेवास्ता?

    ५. अपहरित भनिएका सांसदकै भनाइमा उहाँ मन नलागी नलागी आउनुभएको थियो रे अनि उहाँसँगै आफ्नो बडीगार्ड, पिए र आफन्त पनि सँगै आएर पाँच तारे होटलमा सुत्नु भएको रे। केही घण्टा आराम गरेपछि मर्निङवाक गर्न निस्किएर आफूले गाडी बोलाएर बाबुराम भट्टराईजीकोमा जानुभएको रे। ल उहाँले भनेको सबै मानौं तर मान्ने हो भने के मनमा एउटा सवाल पैदा हुँदैन ‘को त्यस्तो अपहरणकारी होला जसले कसैलाई अपहरण गरेर सवैले देख्ने र थाहा पाउने गरेर ल्याएर, सिसिटिभी क्यामेरा जडित पाँच तारे होटलमा लगेर, उसलाई उसको मर्जी अनुसार निस्किन र बस्न सक्ने अवस्था बनाएर छोडीदियोस्?’

    त्यसैले माथि उल्लेखित कुराहरू र अपहरितकै भनाइ र गराईको व्याख्याको मात्रै अध्ययन गर्ने हो भने पनि प्रथम दृष्टिमै यो अपहरण होइन, अपहरण ठहर गर्नको निम्ति रचित सनसनीपूर्ण कथा हो भन्ने स्थापित हुन्छ। त्यसैले यस घटनालाई स्वघोषित अपहरण वा अपहरणको कपोलकल्पित कहानीभन्दा फरक पर्दैन। त्यति मात्रै होइन उल्लेखित तथ्यपूर्ण कुराहरुले अपहरण परेको सूचना पाएर पनि करिव २०-२२ घण्टा केही नगरेका बाबुराम भट्टराई र उपेन्द्र यादवहरू अहिले आएर मुद्दा हाल्न हिँडने काम जनतालाई लाटो ठान्ने कदम प्रमाणित गर्छ।

    अपहरित भनिएका सांसद यदि साँच्चै अपहरित भएको सत्य हुन्थ्यो भने उनको हत्या पनि हुनसक्ने सम्भावना हुन्थ्यो भन्ने वास्ता नगर्ने, बचाउन कोशिस नगर्ने, प्रहरीलाई खबर नगर्ने अनि अहिले कुन नाक लिएर सुरक्षित यात्रा पश्चातको पाँच तारे होटेलको विश्रामलाई अपहरण भन्दै रोइलो गर्ने? भन्ने जवरजस्त सवाल खडा भएको छ, जसको उत्तर कमसेकम पनि बाबुराम भट्टराईले दिनैपर्नेछ।

    ( ब्रेकएन लिंकबाट साभार   )

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार