Online Nepal
  • बुधबार, १९ मंसिर २०८१
  • प्रविधिसँगै भित्रिएको ‘खतरा’

    प्रविधिसँगै भित्रिएको ‘खतरा’

    ललित बसेल
  • बिहिबार, १५ पुष २०७८
  • 3K
    SHARES

    आजको २१ औं शताब्दीमा हरेक क्षेत्रमा प्रविधिले फड्को मारेको देख्दा आश्चर्य लाग्छ। जुन रफ्तारमा आज प्रबिधिमा रुपान्तरण भईरहेको छ यसले हाम्रो जीवनलाई निक्कै नै सहजता प्रदान गरेको छ। प्रविधि भित्राउन बैंकिङ्ग क्षेत्र पनि पछि परेका छैनन्। बिश्वसँगै हातेमालो गर्दै डिजीटल क्रान्तिको युगमा होस्टेमा हैंसे गर्न नेपाली बैंकहरु पनि पछि परेका छैनन् । सन १९९० मा नबिल बैंकले भित्र्याएको क्रेडिट कार्डसँगै आधुनिक र्बैकिङको शुरुवात भयो । त्यस लगतै अन्य बैंक हरुले पनि त्यसलाई अवलम्बन गर्दै अघि बढे ।

    सन् २००४ मा लक्ष्मी बैंकले शुरुवात गरेको एसएमएस बैंकिङ र सन् २०१२ मा शुरुवात गरेको मोबाईल बैंकिङ प्लेटफोर्म “मोबाईल खाता” डिजीटल क्रान्तिको क्षेत्रमा कोसे ढुंगा सावित भयो । सन् २०२१ को शुरुवातको तथ्याङक हर्ने हो भने इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या ११ लाख हाराहारीमा र मोबाईल बैंकिङ प्रयोगकर्ताको संख्या १ करोड २६ लाख हाराहारीमा रहेका छन् ।



    आज भन्दा केही वर्ष अगाडीका दिनहरु सम्झिने हो भने बिजुलीको महसुल तिर्न त्यो पट्यार लाग्दो घाममा लाइन लागेको आजपनि मस्तिष्कमा ताजा नै छ। कसैको खातामा पैसा जम्मा गर्न लाइनमा बसेर खुट्टा गल्ने गरि उभिएको त कहिले बिर्सिन सकिन्छ होला र ? स्कूल कलेजको फि तिर्न होस्, हवाईजहाज वा बसको टिकेट बुक गर्न, खानेपानीको बिल तिर्न, सिनेमाको टिकेट बुक गर्न, घर बसी बसी समान अनलाइनमा खरिद गर्न होस् वा इन्टरनेटको बिल तिर्न यस्ता अनेकन काम अब घर बसी बसी औंला चालेको भरमा हुने गरेको छन्। झन् यो कोभिड १९ को बेलामा हामीलाई थाहा भयो प्रविधिको विकासको महत्व।



    सम्पूर्ण बैंक तथा वित्तिय संस्थाहरु बन्द हुँदा पानि मानिसहरुले एटीएमबाट होस् या मोबाईल बैंकिङ्ग प्रयोग गरेर आफ्नो आवश्यकता पूरा गरे । अन्यथा सोच्नुस त यदि मानिसहरु पैसाको लागि बैंक खुल्न सँग मात्र भर पर्ने अवस्था रहन्थ्यो भने कुन अवस्था सिर्जना हुने थियो। आजको युग क्यासलेस युग बन्दै छ। आज बजार गएर सपिङ गर्न हामीलाई केहि चाहिदैन केवल मोबाइल भए पुग्छ । इसेवा, खल्ती, सेलपे, क्यूआर कोड जस्ता अनेकन डिजीटल माध्यमबाट सजिलै भुक्तानी गर्न सकिन्छ। हरेक सिक्काका दुइ पाटा हुन्छन भने जस्तै प्रबिधिको विकाससँगै भित्रिएका खतराहरु पनि छन्, जुन हामीले जान्न जरुरी छ ।

    हाम्रो देश नेपाल जहाँ, साक्षरता दर ६७.९१ प्रतिशत रहेको छ। प्रविधिको राम्रो विकास भएतापनि पूर्णतयाः ज्ञान भने केहि सिमित संख्यालाई मात्र हुनसक्छ। एउटा भनाई छ नि ज्ञान नहुनु भन्दा अल्पज्ञान अझै बढी खतरापूर्ण हुन्छ। प्रविधिलाई स्विकार्नु राम्रो पक्ष हो भने यसको जोखिमलाई बेवास्ता गर्नु ठूलो मुर्खता हो। भनिन्छ ‘आफ्नो थैलीको मुख बलियो राख्नु अरुलाई चोर दोष नलगाउनु’ यहि सिद्धान्तलाई पछाउने हो भने हामी ठगिनबाट अवश्य जोगिन्छौै।

    नेपाली बैकहरुको सुरक्षात्मक प्रणाली बलियो नै रहेको हुनाले ह्याकरहरुले प्राय बैंकका ग्राहकहरुलाई शिकार बनाउने गरेका छन् । हामीहरुको बैंक खातामा भएको पैसा हाम्रो केहि असावधानीले तुरुन्तै अरु ले उडाईदिन सक्छन्। यसको लागि गोपनियताको सिद्धान्तलाई आत्मसाथ गर्नु पर्छ। साथीभाई होस् या आफन्त नै किन नहोस् हामीले हाम्रो खाता सम्बन्धी अमुल्य जानकारीहरु साझा गर्नु हुँदैन। एटीएमको पिन नम्बर, आफ्नो जन्ममिती, नागरिकता नम्बर, जारीमिती, जारी जिल्ला र मोबाइल बैंकिङ्गको पाश्वर्डहरु सेयर नगरेकै राम्रो । मानिसहहरुमा केहि चेतना बढेसँगै ठगहरुले नयाँ–नयाँ जुक्ति लगाउँदै आएका छन् ।

    हाललाई ठगहरुले बैंकबाट फोन गरेको भनेर मोबाइलमा आएको ओटीपी माग्ने गरेका छन् । जुन ओटीपीबाट ठगहरुले खाता नै खाली गर्दिने गरेको घटनाहरु हामीमाझ छर्लङ्ग छन्। आफ्नो पाश्वर्डहरु बैंकले नै मागेको खण्डमा पनि हामीले दिनुहुँदैन। सामाजिक संजालहरुमा आउने गरेका सन्देशहरुबाट पनि लुटिएका समाचार हामीले पढेकै छौं । लोटरी विजेता भएको र रकम प्राप्त गर्न केही प्रतिशत रकम निश्चित खातामा जम्मा गर्नु पर्ने निर्देशन बम्मोजीम मानिसहरु ठग्गिदै आएका छन् । पैसा खातामा छ, चेक आफुसँगै छ । पैसा कहिँ जादैन भन्ने दिनहरु गैसकेका छन्। डीजीटल क्रान्तिले गर्दा आज हामीलाई सजिलो साथै चुनौती पनि थपिदिएको छ ।

    अन्त्यमा, सामान्य लाग्न सक्छ यी कुराहरु । तर, हामी जान्ने बुझ्नेको परिवारमा पनि अभिभावकहरु यी कुराबाट अनविज्ञ हुन सक्छन् । हामीले यस्ता जानकारीहरु उहाहरुसँग सेयर गर्नु पर्दछ । किनकि ठगहरुले पराए उहाँहरु जस्तै व्यक्तिहरुलार्इ ठग्न सजिलो मान्ने गर्दछन्। सचेत रहाैं सजग रहौं। तरकारी काट्ने चक्कुले तरकारी काट्छ जानेन भने हात पनि काट्न सक्छ ।

    यसर्थ प्रबिधिलाई आत्मसाथ गर्दै यसको जोखिमहरुलाई बेवास्ता नगरौं । सानो साबधानीले ठूलो दुर्घटना हुनबाट बच्न सकिन्छ। लालच र प्रलोभनमा नपरी आफुलाई जानकारी नभएको कुरामा भरपर्दा जान्ने बुझ्ने ब्यक्ति हरुसँग सल्लहा सुझाव लिएर मात्र निर्णय लियौं । तर, यसो गर्दा पनि आफ्ना गोपनिय जानकारी साझा नगरौं । तसर्थ जोखीम न्युनिकरण गर्दै डिजीटल युगमा अघि बढ्ने गरौं ।
    जय भोलेनाथ ! (लेखक बसेल बैंकर हुन् ।)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार