रौतहट । भारतदेखि तस्करी भएर आएको अवैध कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा बेस क्याम्प सरमुजवा बङ्कुलबाट खटिएको टोलीले अवैध कपडा बरामद गरेको हो ।
क्याम्पका सशस्त्र प्रहरी निरीक्षक भरत गौतमको नेतृत्वमा खटिएको टोलीले भारतबाट भन्सार छली गरेर ल्याएको दुई मोटरसाइकलसहित करिब रु साढे चार लाख मूल्य बराबरको कपडा बरामद गरेको प्रहरीले जनाएको छ ।
बरामद गरेको कपडा क्यारिङ्ग गर्नेले ल्याएको खुलेको छ । यस क्षेत्रका कपडा व्यापारीले राजस्व छल्न क्यारिङ्ग गर्नेलाई कपडा ल्याउने जिम्मा दिने गर्दछन् । व्यापारीसँग क्यारिङ्ग गर्नेले पिसको हिसावले कपडा गन्तब्यसम्म पु¥याउने जिम्मा लिएपछि अवैध रूपमा उनीहरूले तस्करी गर्ने गरेको सुरक्षा स्रोतले जनाएको छ ।
कपडा ल्याउने क्यारिङ गर्ने तस्करले प्रहरीलाई देखेपछि मोटरसाइकल र कपडा छोडेर फरार भएको र उनीहरुको खोजतलास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतको घोडासहनबाट बारा र रौतहटको विभिन्न बजारमा क्यारिङ गरेर कपडा तस्करी गर्ने ठूलो समूह रहेको बताइएको छ । बरामद भएको कपडा र मोटरसाइकललाई आवश्यक कानूनी कारबाहीका लागि गौर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी निरीक्षक गौतमले जानकारी दिए ।
बारा र रौतहट जिल्लाका विभिन्न नाका हुँदै भारतबाट लत्ताकपडा, किराना, हार्डवेयरसहित प्रतिबन्धित लागुऔषधको पनि चोरी तस्करी बढेको स्थानीयवासीले बताएका छन् ।
नेपालबाट सुपारी, लागुऔषध गाँजालगायतका मालसामान भारततर्फ चोरी तस्करी हुने गरेको पाइएको छ । स्थानीय प्रहरीको मिलोमतोमा तस्करी हुने गरेको स्थानीयवासीको आरोप छ ।
Leave a Reply