काठमाडौं। आगामी आर्थिक वर्षको बजेट तथा राजस्व नीति निर्माणका लागि गठित राजस्व परामर्श समितिले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष आफ्नो अध्ययन प्रतिवेदन पेश गरेको छ।
अर्थ मन्त्रालका राजस्व सचिवको संयोजकत्वमा गठित समितिले राजस्व नीति, करसम्बन्धी कानुन, करका दर, राजस्व प्रशासनको संरचना तथा कार्यप्रक्रिया सुधारलगायत विषयमा अध्ययन गरी सुझावसहितको प्रतिवेदन वैशाख ३१ गते अर्थमन्त्रीलाई बुझाएको हो।
समिति गठन मिति २०८२ माघ २८ गते अर्थमन्त्री स्तरीय निर्णयबाट भएको थियो। समितिलाई सरकारको वार्षिक नीति तथा कार्यक्रम तथा बजेट वक्तव्यमा समावेश गर्नुपर्ने नीतिगत विषयमा सुझाव दिन जिम्मेवारी दिइएको थियो।
प्रतिवेदन बुझाउने क्रममा समितिका संयोजक तथा राजस्व सचिवले बदलिँदो आर्थिक र प्रशासनिक परिवेशलाई ध्यानमा राखेर प्रतिवेदनमा समयानुकूल सुझाव समावेश गरिएको जानकारी दिएका छन्।
आगामी बजेटमार्फत ती सिफारिसहरूलाई उपयुक्त रूपमा सम्बोधन गरिने अपेक्षा पनि उनीहरूले व्यक्त गरे।
प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्रीले लामो अध्ययन र विश्लेषणपछि तयार पारिएको उक्त प्रतिवेदनले आगामी बजेट तथा राजस्व नीति निर्माणमा महत्वपूर्ण मार्गदर्शन प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
अर्थमन्त्रीले कार्यान्वयन गर्न सकिने सिफारिसहरूलाई सम्बोधन गर्ने र समितिले दिएका सुझावहरु आगामी बजेट निर्माणका लागि महत्त्वपूर्ण हुने बताए ।