काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले दूरसञ्चार सेवा प्रदायक एनसेलको मुख्यालयमा छापा मारेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाएको सीआईबीले एकान्तकुनास्थित एनसेलको कार्यालयमा छापा मारेको हो ।
स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको छ । सीआईबीले केही केही कागजात नियन्त्रणमा लिएको छ ।
ललितपुरको एकान्तकुनास्थित कार्यालयमा पुगेको सीआईबी टोलीले आचार्य दाजुभाइ र भावना श्रेष्ठको बारेमा सोधखोज गरेको बुझिएको छ ।
सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमकाक टावरलगायतका सम्पत्ति एनसेलले सकारेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकसँग मिलेर एनसेलका मुख्य लगानीकर्ता शतिशलाल आचार्यले लिलामी सकारेपछि सीआईबीले अनुसन्धान गरिरहेको छ । यहि प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योती पाण्डे पक्राउ परिसकेका छन् ।
स्मार्ट टेलिकमका सम्पत्ति लिलामीमा बैंकको समेत पूर्णरुपमा मिलेमतो देखिएको छ । फर्जी कम्पनी खडा गरेर स्मार्ट टेलिकमका सामान एनसेल आजियटाले हत्याएको थियो ।
फर्जी कम्पनी खडा गरेर स्मार्टको उपकरण लिलामी, एनसेल र इन्भेष्टमेन्ट बैकको पूर्ण मिलेमतो !
उक्त सम्पत्ति हत्याउँदा एनसेल आजियटाका सञ्चालक शतिशलाल आचार्य र उनको भाइ सचिनलाल आचार्यको समेत मिलेमतो रहेको खुलेको छ ।
आचार्य दाजुभाईमाथि हुण्डीमार्फत अर्र्बौं रकम विदेश पठाएको प्रकरणमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ ।
तीन वर्ष अघि एनसेलले टेक्नोलोजी विस्तारका लागि भन्दै अर्बौं रुपैयाँ विदेश पठाउन खोजेको थियो । तर, सेयर खरिदमा राज्यलाई अर्बौं घाटा पुर्याएको खुलेसँगै नेपाल राष्ट्र बैंकले रकम पठाउन स्वीकृत नदिएपछि आचार्य दाजुभाइले हुण्डीमार्फ ५ अर्ब रुपैयाँ विदेश पठाएको स्रोतको दावी छ ।
शतिशलालका दाजुभाइले ठूलो रकम हुण्डीमार्फत दुबई, मलेसिया र सिंगापुरमा पुर्याएको प्रकरणमा तीन वर्ष अघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरेको थियो ।
तर, अचार्य दाजुभाइले ठूलो आर्थिक चलखेल गरी छानविन नै रोकाएका थिए । अहिले त्यहि फाइलमाथि विभागले अनुसन्धान थालेको विभागका एक उच्च अधिकारीले अनलाइन नेपालसँग बताए ।
एनसेलको शेयर खरिद गर्दा पनि ठूलो रकम हुण्डीमार्फत विदेश पठाएको प्रकरणमा पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन गरिरहेको छ ।