काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुद्ध जयन्तीका अवसरमा सम्पूर्ण नेपाली तथा विश्व समुदायमा शान्ति, करुणा र सहिष्णुताको सन्देश फैलिन आग्रह गरेका छन् ।
शुभकामना सन्देश जारी गर्दै ओलीले आजभन्दा करिब २६५० वर्षअघि यही दिन मानव इतिहासले करुणाको उज्यालो देखेको उल्लेख गरेका छन्। उनले शान्तिका अग्रदूत गौतम बुद्धले यही दिन बोध प्राप्त गरेको र मानव सभ्यताले बुद्धलाई अमूल्य धरोहरका रूपमा प्राप्त गरेको बताए।
ओलीले ‘२५७० वर्षअघि यही दिन उहाँ महापरिनिर्वाणमा विलीन हुनुभयो’ भन्दै बुद्धको जन्म, बोधी र महापरिनिर्वाण एकै दिन पर्ने यस पावन अवसरको विशेष महत्त्व औँल्याएका छन्।
‘यस दिन हाम्रो देशभित्र र विश्वभर शान्ति, सहिष्णुता र मैत्रीभाव विस्तार होस्,’ उनले सन्देशमा भनेका छन्, ‘मानव सभ्यतालाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गतर्फ डोर्याउने शाश्वत सन्देश प्रवाह गर्ने यस दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु।’