काठमाडौं । अर्थमन्त्री स्वर्णीम वाग्लेले कुनै पनि छिमेकीविरुद्ध नेपाली भूमि दुरुपयोग हुन नदिने स्पष्ट प्रतिबद्धता जनाउँदै विकासको विश्वासिलो साझेदार चीन सँगको मैत्रीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
काठमाडौंस्थित चिनियाँ दूतावास नेपाल ले आयोजना गरेको ‘वसन्तको आवाज गीतसङ्गीतका साथ भित्री मङ्गोलियाको यात्रा’ कार्यक्रममा उनले नेपालको सामाजिक–आर्थिक विकासमा चीनबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले नेपाल–चीन सम्बन्ध दिगो र बहुआयामिक बन्दै गएको उल्लेख गर्दै भविष्यमा अझ सुदृढ हुने विश्वास व्यक्त गरे। उनले भित्री मङ्गोलियाको सांस्कृतिक वैभवलाई द्विदेशीय सांस्कृतिक आदानप्रदानका लागि महत्वपूर्ण माध्यमका रूपमा व्याख्या गरे।
पञ्चशीलका सिद्धान्तमा आधारित सम्बन्धलाई अझ उचाइमा पुर्याउनुपर्ने उल्लेख गर्दै उनले नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित मुलुकमा रूपान्तरण गर्न चिनियाँ सहयोग महत्वपूर्ण रहेको बताए।
उनले राष्ट्रिय स्वतन्त्र पार्टी को घोषणापत्रमा समेत चिनियाँ विकासबाट पाठ सिक्दै आर्थिक समृद्धितर्फ अघि बढ्ने दृष्टिकोण समेटिएको उल्लेख गरे।
चिनियाँ सहयोगमा निर्माण भएका चक्रपथ, त्यसको विस्तार, केरुङ–काठमाडौं सडक, प्रस्तावित रेलमार्ग, मदन भण्डारी विश्वविद्यालय तथा निजामती अस्पतालजस्ता पूर्वाधार परियोजनाहरूलाई उनले “अतुलनीय सहयोग”का रूपमा उल्लेख गरे।
नेपालमा चिनियाँ बैंक स्थापना, कृषि, पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तारका लागि छलफल भइरहेको जानकारी दिँदै उनले वर्तमान सरकारले सुशासन, आर्थिक सुधार र समृद्धिलाई प्राथमिकतामा राखेको बताए।
कार्यक्रममा राष्ट्रियसभाकी उपाध्यक्ष लीलाकुमारी भण्डारीले एकचीन सिद्धान्तप्रति नेपालको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै दुई देशबीचको सात दशक लामो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिइन्।
नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ ले नेपाल सरकार र नेपाली जनताप्रति आभार व्यक्त गर्दै ‘बेल्ट एण्ड रोड’ पहलमार्फत नेपालको विकासमा अझ सहयोग गर्ने प्रतिबद्धता जनाए।
उनले चीनको १५औँ पञ्चवर्षीय योजनाले छिमेकी राष्ट्रहरूको विकासमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै द्विपक्षीय सहमति र परियोजनाहरू कार्यान्वयनमा जोड दिने बताए ।