काठमाडौं । भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपालीहरुको राहदानीमै ‘रोजगारीका लागि पूर्ण रुपमा प्रतिबन्ध’ लेख्ने कर्मचारीहरुमाथि कारबाही थालिएको छ ।
प्रचलित कानुन र विभागीय निर्णयविपरीत गैरकानुनी अभ्यास गरेको भन्दै विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई जना अध्यागमन अधिकृतहरूलाई जिम्मेवारीबाट हटाइ अनुसन्धान अघि बढाइएको हो ।
उनीहरुको विवरण भने खुलाइएको छैन ।
कुनै पनि आधिकारिक निर्णय बिना नै प्रस्थान गर्दाकै बखत प्रस्थान छापसहित ‘रोजगारी पूर्ण रुपमा प्रतिबन्ध’ लेखिएको थियो ।
विमानस्थलबाट यूएई प्रस्थान गर्न लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै ‘रोजगारी पूर्ण रूपमा निषेध गरिएको छ’ भन्ने व्यहोरा लेखिएको फेला परेपछि यो विवाद बाहिर आएको थियो ।
सोही विषयमा सत्यतथ्य पत्ता लगाउन विभागले गत वैशाख ३ गते नै छानबिन समिति गठन गरेको थियो।
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले आज एक विज्ञप्ति जारी गर्दै नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै पनि नीति वा निर्णय नभएको स्पष्ट पारेका छन् ।
‘नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरुलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ,’ ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त तथ्य बाहिरिएसँगै अध्यागमन विभागले वैशाख ३ गते छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।