काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको भन्दै असन्तुष्टि पोखेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत पौडेलले निर्वाचनमा पार्टीले भोगेको पराजयको गम्भीर समीक्षा गर्नुको सट्टा वामपन्थी एकताको असान्दर्भिक चर्चा चलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनले लेखेका छन्- ‘नेकपा एमालेका लागि निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन आजको प्राथमिक कार्यसूची हो । यस यथार्थबाट अन्यत्र ध्यान मोड्ने गरी पर्दाभित्रबाट वामपन्थी एकताको असान्दर्भिक चर्चा कसले, किन चलाइरहेका हुन् ?’
उनले पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची भएको स्पष्ट पार्दै यस्तो चर्चा पर्दाभित्रबाट कसले र किन चलाइरहेको छ भन्दै प्रश्नसमेत उठाएका छन् ।
बिहीबार टिचिङ अस्पतालमा उपचाररत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पूर्वप्रधानमन्त्री एवम पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए ।
करिब ४० मिनेट भएको उक्त भेटलाई धेरैले सामान्य स्वास्थ्य अवस्थाबारे चासोका रूपमा व्याख्या गरे पनि केहीले भने यसको राजनीतिक अर्थ रहेको संकेत गरेका छन्।
यता एमालेका नेता महेश बस्नेतले पनि ओली र प्रचण्डबीच भएको पछिल्लो भेटवार्ताले राष्ट्रिय राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।