काठमाडौं । थाइल्याण्डस्थित नेपाली राजदूतावासले अवैध रूपमा कम्बोडियामा बसिरहेका ४६ जना नेपालीको उद्धार गरिएको छ ।
विभिन्न प्रलोभनमा परेर विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालन भएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको थियो ।
उनीहरुको चैत ३० र वैशाख १ गतेको बीचमा उनीहरूलाई उद्धार गरी नेपाल फर्काइएको दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कम्बोडियामा केही नेपाली नागरिकलाई अनलाइन ठगीलगायत गैरकानुनी गतिविधिमा संलग्न गराइएको तथा भिसा अवधि सकिएर वा बिना भिसा बसिरहेका व्यक्तिहरू भेटिएको जानकारी प्राप्त भएको छ।
कम्बोडिया सरकारले हालै अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न गतिविधिलाई लक्षित गर्दै कडा कानुन लागू गरेको छ। उक्त कानुनअनुसार यस्ता केन्द्रहरूमा काम गर्ने व्यक्तिलाई अपराधको प्रकृतिअनुसार न्यूनतम दुई वर्षदेखि आजीवन कारावाससम्मको सजाय तथा एक लाख २५ हजारदेखि पाँच लाख अमेरिकी डलरसम्म जरिवाना हुने व्यवस्था रहेको छ।
दूतावासले बिना भिसा वा भिसा अवधि सकिएर बसिरहेका नेपालीहरूलाई यथाशीघ्र स्वदेश फर्कन पुनः आग्रह गरेको छ।
त्यस्तै, स्क्यामिङ केन्द्रहरूमा काम गराइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराएको भनी गुनासो आउने गरेको उल्लेख गर्दै यस्तो अवस्थामा नेपाली राजदूतावास बैंककले निस्शुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरी उद्धार गर्ने व्यवस्था रहेको जनाएको छ। विस्तृत जानकारी दूतावासको वेबसाइटमा उपलब्ध रहेको पनि उल्लेख गरिएको छ।
दूतावासका अनुसार पछिल्लो समय कम्बोडियामा नेपालीहरूको आगमन उल्लेख्य रूपमा बढेको छ। सन् २०२१ मा १०१ जना, २०२२ मा १,९७७ जना, २०२३ मा २,९४० जना, २०२४ मा ६,४०४ जना तथा २०२५ मा ९,६७७ जना नेपालीहरू भ्रमण भिसामा कम्बोडिया गएको तथ्यांकले देखाएको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा यो संख्या हरेक वर्ष आकाशिँदै गएको छ। सन् २०२२ मा एक हजार ९७७, सन् २०२३ मा २ हजार ९४० र सन् २०२४ मा ६ हजार ४०४ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६ सय ७६ पुगेको दूतावासले जनाएको छ।
दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना आएको र उनीहरुको पहिचान गरी नेपाल फर्काउने प्रयास भइरहेको उल्लेख गरेको छ ।
यसअघि गत चैत्र २३ गते ७ जना, चैत ११ गते ५१ जना, चैत्र ५ गते २० जना र गत फाल्गुन २८ गते विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको थियो ।